Friday, December 12, 2008

फेसबुक महिमा - २

नेपालको राजनितीमा फेसबुकका आकर्षण हुन् अर्थमन्त्री डा. बाबुराम भट्टराई । हालै मात्र उनले आफ्ना फेसबुक मित्रहरूलाई सम्बोधन गर्दै पत्रसमेत लेखे । 'तपाईंका हरेक धारणाको जवाफ दिन नसकेकामा क्षमाप्रार्थी छु ।'

एक टेलिभिजनले त बाबुरामको फेसबुक सञ्जालका विषयमा रिपोर्ट नै प्रस्तुत गर्‍यो । करिब तीन महिनाअगाडि अमेरिकामा अध्ययन गरिरहेका केही र नेपालमै रहेका एक 'जबर्जस्त फ्यान' ले प्रवेश गराएका थिए भट्टराईलाई फेसबुक सञ्जालमा । भट्टराईबाटै सञ्चालन भइरहेको सम्झी धेरै शुभचिन्तकले त्यसमा आफ्नो धारणा राख्दै आएका थिए । तर, स्वयम् भट्टराई भने त्यसबारेमा अनभिज्ञ थिए । कतिपयले त भट्टराई पनि फेसबुक सञ्जालमा देखेर आफूलाई त्यसमा प्रवेश गराए । एक दैनिक पत्रिकाका संवाददाता भन्छन्- 'मलाई फेसबुकको विषयमा त्यति ज्ञान थिएन । मेरो सहकर्मीले बाबुरामको 'प्रोफाइल' देखाए अनि म पनि यसमा छिरेँ ।'

भट्टराईलाई बृहत् सामाजिक सञ्जालमा प्रवेश गराउने ती फ्यानले भने- 'उहाँको फेसबुक खोल्दा हामीले एसोसियट प्रेस (एपी) बाट फोटो 'डाउनलोड' गरी 'अपलोड' गरेका थियौँ ।' ती शुभचिन्तकले बाबुरामको प्रोफाइल बनाउन एक रात लगाएको बताए । बाबुरामकै फेसबुक सोचेर 'हाई प्रोफाइल' मानिसले धेरै सुझावयुक्त कमेन्ट गर्न थालेपछि बाबुरामका निजी सचिव विश्ववदीप पाण्डेलाई जानकारी गराएका थिए । 'हामीले भट्टराई सरको फेसबुक सुरु गरेपछि वासिङ्टन पोस्टका डा. चित्र तिवारीले, बिबिसी नेपाली सेवाका भगीरथ योगीलगायतले निकै सुझावयुक्त कमेन्ट पठाउनुभयो । त्यसपछि भट्टराई सरका शुभचिन्तकलाई भ्रममा राख्न मन लागेन र विश्वदीप सरलाई जानकारी गरायौँ,' उनले भने ।

ती शुभचिन्तक फेसबुकको विशेषता सुनाउन केही दिनअघि मन्त्रीनिवास नै पुगे । भेटपछि बाबुराम निकै सकारात्मक भए र आफ्ना निजी सचिव विश्वदीपलाई नियमित 'अपडेट' गर्न निर्देशन दिए । विश्वदीपले ती शुभचिन्तकबाट फेसबुकको इमेल ठेगाना र पासवर्ड लिए । 'मैले पहिलो दिन सबै कमेन्ट बटुलेर पि्रन्ट गर्दा २७ पेज पुग्यो । त्यो रातभर लगाएर सरले पढ्नु'भो,' उनले सुनाए । सोही दिन बाबुरामले सम्बोधन लेखे । भोलिपल्ट फेसबुकमा उनको हस्तलिखित सम्बोधन प्रकाशित भयो ।
उनको सम्बोधन फेसबुकमा 'पोस्ट' भएपछि बाबुरामको सञ्चालका विषयमा अन्योलमा परेका धेरै फेसबुक प्रयोगकर्ता बाबुरामकै प्रोफाइल भएकामा ढुक्क भए । त्यही दिन तीन सयजनाको 'फ्रेन्ड्स रिक्वेस्ट' आयो । शुक्रबार रातिसम्म बाबुरामको सञ्जालमा दुई हजार तीन सय २७ साथी छन् ।

पत्रकार नारायण वाग्लेलाई भट्टराईको सञ्जालप्रवेश राम्रो लागेको छ । 'एउटा नेताले सूचना-प्रविधिको सदुपयोग गर्नुलाई सकारात्मक मान्नुपर्छ । यसले प्रविधि प्रयोगकर्तालाई नेतासम्मको पहुँचलाई सहज बनाएको छ,' उनले भने ।
सञ्जालका सुनील रेग्मी भट्टराईको 'वाल' मा नियमित कमेन्ट गर्छन् । नेटवर्किङको काम गर्ने र राजनीतिमा निकै चासो राख्ने सुनील भट्टराई सञ्जालमा आएकामा निकै खुसी छन् ।
'यसले इन्टरनेट प्रयोग गर्ने हजारौँ नेपालीको सम्मान त भएको छ नै भट्टराईसम्म पहुँच नभएकाले उनलाई जिज्ञासा र सुझाव राख्न पाउने ठाउँ पनि भएको छ,' उनलाई लाग्छ । भट्टराईका अर्का फेसबुक फ्रेन्ड् विवेक पौडेल पनि सञ्जालमा आएर उनले राम्रो गरेको बताउँछन् । 'उहाँ यो सञ्जालमार्फत नेपाली र विदेशीको मासमा पुग्नुभएको छ । यसले विशेष गरी २० देखि ३० वर्ष उमेर समूहका मान्छेलाई बुझेको देखाउँछ,' उनले ठानेका छन् ।

बाबुरामको फेसबुकमा 'कमेन्ट' गर्ने नेपाली मात्र होइन विदेश पनि धेरै छन् । स्विट्जल्र्यान्डकी नागरिक अस्टि्रड राना (जो बाबुराम भट्टराईकी फ्यान पनि हुन्) भन्छिन्- 'बाबुराम फेसबुकमा आएर युवा र प्रौढ दुवैप्रतिको दायित्वलाई राम्रोसँग दर्साएका छन् । तर, नेपालीमा इन्टरनेटको पहँुच निकै कम भएकाले उनी त्यहाँसम्म पुग्न र तिनका कुरा सुन्न आफैं पुग्न सक्नुपर्छ ।' फेसबुकमै भए पनि नेपालीका पीडा र खुसी बाँड्न पाउँदा उनी खुसी छन् ।
त्यसो त अर्थमन्त्री बाबुराम पनि दैनिक कमेन्ट हेर्न पाउँदा खुसी छन् उनले फेसबुकमा आएको कमेन्ट पढ्न मात्रै दैनिक आधा घन्टाभन्दा बढी समय दिने गरेका छन् । 'मैले फेसबुकमा आएका कमेन्टलाई निकै गम्भीरताका साथ पढ्ने गरेको छु । त्यसमा मेरो आधा घन्टा समय खर्च हुने गरेको छ,' उनले सुनाए । समयभावका कारण सबै शुभचिन्तकका जिज्ञासाको जवाफ दिन नपाएकामा उनलाई दुःख लागेको छ ।

बजारमा आउन लागेको नयाँ पत्रिका दैनिकीका गुणराज लुइँटेलले फेसबुकमार्फत दैनिकीको भवन पहिलोपटक पोस्ट गरे । त्यसयता दैनिकीसँग जोडिएका हरेक नयाँ कुरा फेसबुकमा अपडेट हुन थाले । यतिसम्म कि नारायण वाग्लेले आफ्नो पहिलो सन्तानको तस्बिर फेसबुकमार्फत सार्वजनिक गरे । उनीसँग व्यक्तिगत चिनजान भएका/नभएका सबैले बधाई दिए । वरिष्ठ पत्रकार किशोर नेपाल, दैनिकीका सम्पादक नारायाण वाग्ले, झलक सुवेदी, पाक्षिक पत्रिका हिमालका कार्यकारी सम्पादक किरण नेपाल, जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठका दैनिकी बुझ्न फोन गरिहरनु आवश्यक छैन । अहिले पत्रकार श्रेष्ठ चीनको सियानमा सहरमा छन् । उनको फेसबुक सञ्जालमा भएको जोँकोहीलाई थाहा हुन्छ ।

हास्य कलाकार मनोज गजुरेल पनि फेसबुकका आकर्षण हुन् । उनको देउसी गीत तिहार नआउँदै फेसबुकसाथीले हेर्न पाइसकेका थिए । उनले आफ्नो भिडियो एल्बम 'फोटोकपी' लाई प्रोफाइल फोटोमा राखेका छन् । फेसबुकमा प्रकाशित सबै सार्वजनिक हुने भएकाले त्यसको दुरुपयोग हुनसक्ने सम्भावना पनि त्यत्तिकै छ । तर, दैनिकीका नारायाण वाग्लेलाई त्यस्तो लाग्दैन । उनले आफ्नो पहिलो सन्तानको तस्बिर श्रीमतीसहित सञ्जालमा राखे । त्यसको सयको हाराहारीमा कमेन्ट आयो । 'मेरो एकाउन्टमा सब मेरा चिनजानका साथीहरू छन् । त्यसैले दुरुपयोग नै होला भन्ने लाग्दैन मलाई,' उनले भने ।

साभार प्रमिला देवकोटा
नयाँ पत्रिका

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।