Thursday, September 23, 2010

विकास थापा थुनाउने जिमेलको सेरोफेरो

कान्तिपुर विकास थापा प्रकरणलाई समग्रमा हेर्दा उनीमाथि पूर्वाग्रह र शक्तिको बलले कारवाही भएको आभास हुन्छ। न्यायाधीशको फैसला पूर्णतः ‘कान्तिपुरका प्रबन्ध निर्देशक कैलाश सिरोहिया र सम्पादक सुधिर शर्माको पत्र हेर्दा विकास थापा निर्दोष रहेको देखिएन’ भन्ने आधारमा भएको हो भने मुलुकमा कानुनको राज रहेनछ भनेर कसैले भनिहाले अदालतलाई मानहानी गरेको भनेर भन्ने मान्छेलाई मुद्दा हाल्न कोही नतम्से हुन्छ। किनभने गाँठी कुरा त्यही हो। नारीको इज्जत र सम्मानको कुरा एक ठाउँमा छ, तर त्यही इज्जत र सम्मानलाई हतियार बनाएर कोही निर्दोषको घाँटी काटिन्छ भने त्यो कदापि उचित हैन।

यस ब्लग र कान्तिपुरकै समाचारमा पनि थापाले पब्लिकेसन्समै कार्यरत महिला सहकर्मीलाई इमेलमार्फत गाली-गलौज र अश्लील शब्द प्रयोग गरी लामो समयदेखि मानसिक यातना दिँदै चरित्रहत्या गर्न खोजेको आन्तरिक छानबिनबाट प्रमाणित भएपछि व्यवस्थापन बर्खास्त गर्ने निर्णयमा पुगेको हो भन्ने भनाईले यो काण्ड पूर्ण रुपले इमेलसँग सम्बन्धित भएको बुझिन्छ। त्यसमा पनि मैना धितालले जिमेलको इमेल प्रयोग गर्दिरहिछिन्। विकास थापालाई थुनाउने उनको जिमेलको इमेलबारे कान्तिपुरको आई टी विभाग, व्यवस्थापन र अदालत खोजबिन नगरी कारबाही गर्न हतार गरेको देखिन्छ। तसर्थ म जस्तो कान्तिपुरसँग कुनै आग्रह पूर्वाग्रह नभएको तर कान्तिपुरको वार्षिक ग्राहकलाई पनि भन्न मन लाग्छ “समाचारको मामला त ठिकै होला जस्तो लाग्छ तर न्याय दिने मामलामा १८ वर्ष काम गरेको कर्मचारीप्रति कान्तिपुर पूर्वाग्रही देखियो।

मैनाको जीमेल हेर्दै आईटी विभागले त्यस्ता इमेल अफिसकै कम्प्युटरबाट आउने गरेको ठहर कसरी गर्‍यो ?
गुगलको ईमेल सेवा जीमेलमा त्यस कम्पनीबाटै कुनै प्रत्यक्ष सहयोग नपाएको अवस्थामा कुनै पनि इमेल कहाँबाट पठाएको हो त्यसको बारेमा भरपर्दो जानकारी पाउन सकिन्न। साधारणतया कुनै इमेल कहाँबाट पठाएको निर्क्योल गर्न इमेल पठाउँदा प्रयोग गरेको इन्टरनेट सर्भरको पब्लिक आई पी एड्रेस (WAN को लागी प्रयोग गरिने IP Address) , इमेल पठाउन प्रयोग गरिने कम्प्युटरको (नेटवर्कमा छ भने त्यसको) प्राइभेट आई पी एड्रेस (LAN को लागी प्रयोग गरिने IP Address) अथवा त्यस कम्प्युटर को म्याक एड्रेस (MAC Address) र त्यो इमेल पठाएको समय थाहा हुनुपर्छ। तब मात्र कुनै पनि इमेल त्यसैले पठाएको भनेर ठोकुवा गरेर भन्न सकिन्छ। तर जीमेलमा माथि उल्लेख गरिएका पब्लिक आई पी, प्राइभेट आई पीसमय मध्ये पब्लिक आई पीसमय मात्र थाहा पाउन सकिन्छ। इमेल पठाउँदा प्रयोग गरिएको कम्प्युटरको प्राईभेट आई पी वा त्यस कम्प्युटरको म्याक एड्रेसको अभावमा पब्लिक आई पी र समयको आधारमा मात्र गरिने दावी विश्वासिलो हुँदैन। यस्तोमा आफ्नो नेटवर्कभित्रका कम्प्युटरहरुको पब्लिक आई पी एड्रेस एकै हुनाले आफ्नो नेटवर्क भित्रका सबैलाई आफ्नो दुश्मन मात्र देख्ने काम हुन जान्छ। विकास थापा प्रकरणमा पनि मैना धितालहरुमा यस्तै लङ्गडो तर्कको आधारमा दृष्टि दोष रहेको भान हुन्छ। ( जिमेलको हेडरमा लेखेका कुरा बुझ्न यहाँ क्लिक गर्नुहोस्। )


उदाहरणको लागि मैले काम गर्ने अफिसको इन्टरनेटको पब्लिक आई पी एड्रेस 203.91.149.164 हो र यसमा लगभग ५०० कम्प्युटरको नेटवर्किङ गरी इन्टरनेट चलाइन्छ। मेरो अफिसको नेटवर्किङ, जुन इन्टरनेट सेयर गरी प्रयोग गर्नको लागि निर्माण गरिएको हो, त्यो नेटवर्कमा मैले प्रयोग गर्ने कम्प्युटरमा प्राइभेट आई पी 192.168.9.253 असाइन गरिएको छ। मानी लिउँ मैना धिताल पनि मैरै अफिसमा काम गर्थिन्। यस्तोमा मैले उनलाई एउटा फेक आईडी बनाएर अश्लील इमेल पठाएँ भने मैनाको जीमेलबाट थाहा पाइने भनेको हाम्रो अफिसको पब्लिक आई पी एड्रेस 203.91.149.164 र मैले इमेल पठाएको समय मात्र हो। अब मैनाले त्यो इमेल पठाउने मान्छेको प्राइभेट आई पीको अभावमा वास्तविक व्यक्ति पहिचानको अभावमा मलाई नै शंका गरे नि हुन्छ, मेरो पल्लो कोठामा बस्ने भाइलाई शंका गरे नि हुन्छ, उनको एक वर्षअघि झगडा गरेको साथीलाई शंका गरे नि हुन्छ। किनभने पब्लिक आई पीको आधारमा त्यो इमेल पठाउँदा प्रयोग भएको आई पी हाम्रै अफिसको भएको थाहा लाग्छ तर प्राइभेट आई पीको अभावमा मेरो वा मेरो पल्लो कोठामा बस्ने भाइको वा एक वर्षअघि झगडा गरेको साथीको नै कम्प्युटरबाट नै त्यो इमेल पठाएको हो भनेर ठोकुवा गर्न सकिँदैन।
कुनै ब्यक्तिको नाम र इमेल ठेगानाबाट गलत आशयको इमेल आयो भन्दैमा त्यस ब्यक्तिलाई कारवाही गरी हाल्न सकिन्छ त ?

सरकारले नेपालको विद्युतीय कारोबार व्यवस्थित गर्न बनेको कानुन पूर्ण लागू गरी डिजिटल सिग्नेचर ब्यापक प्रयोग/पालना र यसको अनुगमन नगरुञ्जेल आजको अवस्थामा कुनै ब्यक्तिको नाम र इमेल ठेगाना प्रयोग भएर गलत आशयको इमेल आयो भन्दैमा त्यसलाई कारबाही गरी हाल्न मिल्दैन। PHP जस्ता सर्भर साइट स्क्रिप्टको सहायताले जोसुकैको नाम र इमेल प्रयोग गरेर कसैलाई पनि इमेल पठाउन सकिन्छ। मैना धितालकै इमेल ठेगाना र नाम प्रयोग गरेर अर्को इमेल विकास थापालाई पठाउनु पनि आजको समयमा कुनै समस्याको कुरा हैन। यसको लागि जीमेल वा अन्य कुनै मेलको पासवर्ड ह्याक गर्नु पर्छ भन्ने छैन । ( यसलाई एक पटक हेर्नुस न ।)

[ यो लेख विशुद्ध रुपमा विकास थापा प्रकरणलाई आधार मानेर कान्तिपुर जस्तो कर्पोरेट अफिसमा गरिने नेटवर्किङलाई मध्यनजर गरी त्यसमा कसरी विश्वसनीयताको खोजी गर्ने भनेर तयार गरिएको हो। इन्टरनेटको लागि तपाईँ यदि डायल अप इन्टरनेट वा ADSL इन्टरनेट चलाउनु हुन्छ र कुनै इमेल कहाँबाट आएको हो भनेर थाहा पाउन चाहनु हुन्छ भने त्यहाँ पब्लिक आई पी र प्राइभेट आई पी खोजेर टाउको नदुखाउनु होला। त्यतिखेर डायनामिक आई पी र स्टाटिक आई पीको कुरा पनि आउँछ। मौका मिले यस बारेपछि लेखौँला। ]
mysansar@anish.com.np


source : http://www.mysansar.com/archives/2010/09/id/13581