Sunday, August 28, 2011

गुगलका अत्यावश्यक सेवाहरु #google #essential #products


यदि तपाईंले जिमेलमा खाता खोल्नुभएको छ भने त्यही एउटा खाताको माध्यमबाट गुगलका सबै सेवा उपयोग गर्न सक्नुहुन्छ । गुगलमा न्युज, इमेज , ब्लग , वेब  सर्च आदिबाहेक सबै जस्तो सेवा उपयोग गर्नको लागि लग इन हुनु पर्दछ तर सबैमा छुट्टाछुट्टै दर्ता हुनु पर्दैन । गुगलको कुनै एउटा उत्पादनमा दर्ता भएर त्यसैको युजर नेम र पासवर्डले सबै सेवा उपभोग गर्न सकिन्छ । गुगलको कुनै एउटा सेवा प्रयोग गर्नलाई दर्ता भएर प्राप्त गरेको युजर नेम, पासवर्डलगायत् त्यसमा प्रविष्ट अन्य व्यक्तिगत विवरणयुक्त खातालाई गुगल खाता भनिन्छ । एउटा गुगल खाता बनाई सकेपछि त्यसैको प्रयोगले गुगलका २६ भन्दा बढी सेवाहरु प्रयोग गर्न सकिन्छ ।

उदाहरणको लागि, यदि तपाईंले गुगल खाता खोल्नुभएको छ भने त्यही एउटा खाताको सहायताले यु ट्युबमा  भिडियो अपलोड गर्नदेखि ब्लग स्पटमा ब्लगसम्म बनाउन सक्नुहुन्छ । भलै गुगलमा  सर्च गर्नको लागि साइन इन गर्नु पर्दैन तर जिमेललगायत् साइन इन हुनैपर्ने गुगलको उत्पादनमा साइन इन भएर सर्च गर्नुभयो भने तपाईंको (गुगल) सर्च गतिविधिलाई गुगलले हिस्ट्रीको रुपमा सेभ गरिराखेको हुन्छ । जुन सर्च हिस्ट्री कालान्तरमा तपाईंलाई उपयोगी पनि हुन सक्छ ।


तपार्इंको गुगल खाताले गुगल डक्स  मा लग इन गरेर माइक्रोसफ्ट वर्डजस्तै वेब एप्लिकेशनमा काम गर्न सक्नुहुन्छ । त्यस फाइलको लिङ्क साथीलाई शेयर गरेर दुवैजनाले एकैपटक एउटै फाइलमा काम गर्न सक्नुहुन्छ । माइक्रोसफ्ट वर्डको फाइल २००७ भर्सनको भएर आफ्नो कम्प्युटरमा खुल्न नसकेको अवस्थामा गुगल डक्समा ओपन गरी आफुलाई काम लाग्ने भर्सनमा डाउन लोड गर्न तथा एकै क्लिकमा पीडीएफ (PDF) बनाएर डाउन लोड गर्न सक्नुहुन्छ । वर्डमात्र हैन, गुगल डक्समा एक्सल, पावर प्वाइन्ट लगायत्का डकुमेन्ट तयार गर्न सकिन्छ । अझ तपाईंको कम्प्युटरमा गोप्य र दीर्घकालीन महत्वको फाइलहरु छन भने गुगल डक्सले सपोर्ट गरेसम्म सिधै नत्र जिप वा आएआर  फम्र्याटमा कम्प्रेस गरी अपलोड गर्न सक्नुहुन्छ । जसलाई तपाईंले आफुले चाहेको समय र स्थानबाट एक्सेस गर्न तथा अरुलाई सेयर पनि गर्न सक्नुहुन्छ ।

मूल्य र प्रयोगको हिसाबले सुलभ र सहज भएको कारणले शहर–बजारका धेरैको घरमा डिजिटल क्यामेरा पाइन्छ । त्यसैले पनि हुन सक्छ, सानातिना फेमिली र फ्रेण्ड्स गेट टुगेदरहरुसम्म पनि धेरैको क्यामेरामा कैद हुने गरेको छ । अझ दशदेखि बाह्र मेगा पिक्सेलसम्मका क्यामेरा भएका मोबाइल फोन बजारमा पाइने हुनाले मन लागेको दृश्य कैद गर्नु धेरैको जीवनचर्या बनिसकेको छ । ती अनगन्ती फोटोहरु जसलाई चाहेर पनि धुलाउन सकिने अवस्था रहँदैन, त्यसलाई गुगल खाताको प्रयोग गरी पिकासामा अपलोड गर्न सकिन्छ । यसमा तपाईं एउटा गुगल खाताबाट २ जीबीसम्मको फोटो अपलोड गर्न सक्नुहुन्छ । यसमा फोटो अपलोड गर्नको लागि डेक्सटप एप्लिकेशन पनि भएकोले जतिसुकै ठूलो साइजको फोटो पनि आफ्नो सेटिङ्ग्सअनुसार साइज घटाएर अपलोड गर्न सकिन्छ । पिकासामा राखिएका फोटोहरु आवश्यकताअनुसार कसैले नदेख्ने गरी, आफुले निम्त्याएका मान्छेले मात्र देख्ने गरी र सबैले देख्न मिल्ने गरी विभिन्न सेटिङ्ग मिलाएर राख्न सकिन्छ ।

गुगल खाताको प्रयोग गरी गुगल कन्ट्याक्टको  प्रयोगले आफुले सम्पर्क गरी रहनुपर्ने व्यक्तिको ईमेल ठेगाना, मोबाइल नम्बरदेखि पोष्टल एड्रेससम्म व्यवस्थित गर्न सकिन्छ । आफ्नो कन्ट्याक्ट एड्रेसलाई ग्रुप बनाएर राख्ने भने सो ग्रुपमा रहेका सबैलाई एक क्लिकको भरमा एकैपटकमा ईमेल पठाउन सकिन्छ ।

सार्वजनिक कार्यालयहरुको लागि गुगल क्यालेण्डर धेरै उपयोगी देखिन्छ । यसमा सम्बन्धित कार्यालयको विदाको विवरण्देखि कर्मचारीहरुको बसिसकेको तथा बस्ने विदाको विवरण राख्न सकिन्छ । गुगल खाता भएकाहरुबीच गुगल क्यालेण्डर सेयर गर्न मिल्ने भएकोले यस प्रकारका सूचनाहरु सजिलै प्रवाह गर्न सकिन्छ । यसमा भविष्यमा गर्नुपर्ने कुनै काम नबिर्सियोस भनेर तोकिएको समयमा आफ्नो मोबाइलमा एसएमएस आउने गरी सेटिङ्ग गर्न सकिन्छ ।

गुगल खाताको प्रयोगले ब्लगरमा  ब्लग खोल्न सकिन्छ । यसमा आफ्नो सबडोमेनको पछाडि .blogspot.com भन्ने झुण्डिएर रहेको हुन्छ । जसलाई टप लेभल डोमेन खरिद गरी ब्लगर एड्रेसलाई विस्थापन गर्न सकिन्छ ।

गुगल प्लस  प्रयोग गर्नको लागि पनि गुगल खाताको आवश्यकता पर्दछ । लगभग २ महिनाअगाडि जस्तो सुरु भएको यो सेवालाई धेरैले फेसबुकको विकल्पको रुपमा लिएका छन् ।
यो लेख मिती २०६८ भाद्र ११ गतेको ब्लाष्ट टाईम्समा प्रकाशित भएको हो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।

1 comment:

  1. राम्रो लेखन शैली ! Keep it up

    ReplyDelete

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।