Sunday, March 4, 2012

ट्विटर गाथा #twitter

तपाईलाई सामाजिक सञ्जाल वेबसाइटको लत लागिसकेको छ भने फेसबुकको बारेमा केही उल्लेख गरी रहन नपर्ला, तर विश्व बजारमा फेसबुक जत्तिकै प्रसिद्धि पाएको अर्को सामाजिक सञ्जाल वेबसाईट ट्विटरको बारेमा जानकारी नहुन पनि सक्छ । ट्विटरलाई माईक्रोब्लगिङ साईट पनि भनिन्छ । यसमा मनमा लागेका कुरा १ सय ४० अक्षरमा नबढाई लेखिन्छ । थोरै शब्दमा भन्नुपर्दा फेसबुकमा सबै कुरा हटाएर वाल मात्र राख्ने हो भने ट्विटर (जस्तै) बन्छ । ‘जस्तै’ हो भन्नुको कारण यो ठ्याक्कै त्यस्तै चाहिं हँुदैन किनभने फेसबुकमा जस्तो ट्विटरको टाईमलाईनमा लेखेको कुरा लाईक हुदैन, मन परे रि–ट्विट गर्न सकिन्छ । वाल पोष्टमा कमेन्ट गरेजस्तो टाईमलाईनमा कमेन्ट गर्न मिल्दैन । टाईमलाईनको ट्विटको सम्बन्धमा सम्बन्धितलाई मेन्सन गरेर रिप्लाईसम्म गर्न सकिन्छ । सबैभन्दा मुख्य कुरा फेसबुकमा जस्तो तपाईको बिगत ट्विटरले संग्रह गर्दैन । त्यसैले त यसमा तपाईका ट्विट सजिलै खोज्नको लागि पेजपछाडि सार्ने पेजिनेशन लिङ्कसम्म हुन्न । साधारणतया फेसबुकको वालमा लेखेको कुरा हप्तौं दिनसम्म पनि कमेन्ट आइरहन सक्छ तर ट्विटरमा ट्विट गरेको बेला कसैले आफ्नो टाईमलाईनमा देखेर रि–ट्विट वा कमेन्टसहित रि–ट्विट गरे भिन्दै कुरा हो नत्र साधारणतया कसैले पनि अरुको टाईमलाईनमा गएर प्रतिक्रिया जनाउँदैनन् ।


फेसबुकमा भन्दा ट्विटरमा यति धेरै फरक हुँदाहँुदै पनि यसको क्रेज फेसबुकको भन्दा कम छैन । स्वभावले नै फेसबुकले चिनेजानेका मान्छेलाई भेटाई दिन्छ ट्विटरमा यो कुरा हुन्न । ट्विटरमा आफ्नो खाता खोली सकेपछि जसलाई पनि फलो गरेर उसको ट्विट पछ्याउन सकिन्छ । भिन्दै कुरा हो कि तपाईले फलो गरेको व्यक्तिले तपाईलाई फलो नगर्न सक्छ तर उसको ट्विट तपाईको टाईमलाईनमा देखिन्छ । यो सेलिब्रेटीहरुको कुरा हो, बलिउड तथा हलिउडका कलाकारहरुको लाखौं फलोवर्स हुन्छन् तर उनीहरुले ज्यादै कमलाई फलो गरेका हुन्छन् । उनीहरुले तपाईलाई फलो गरेको नभए पनि उनीहरुलाई मेन्सन गरेर तपाईले ट्विट गर्नु भयो भने उनीहरुले तपाईको ट्विट पढ्न सक्छन् ।

सामाजिक सञ्जाल वेबसाईटहरुमा फेसबुकको आफ्नै स्थान छ । ट्विटरले फेसबुकलाई सोझै प्रतिस्थापन गर्न सक्दैन किनभने यी दुई वेबसाईटहरुको फिचरहरु नितान्त फरक छन् र पनि ट्विटरका केही उल्लेख गर्न लायक फिचरहरु यस प्रकार छन् ।
  • सबै ट्विट पढ्न जरुरी छैन । फुर्सद्को समय मात्र दिए पुग्छ ।
  • ट्विटवरमा आफ्नो फलोविङ लिष्टमा रहेका कोही साथी वा त्यस्तै कोही सेलिब्रेटीबारे अपडेट भइरहन सकिन्छ ।
  • आफ्नो टाइमलाइनमा आउने सबैलाई रिप्लाई दिनु जरुरी छैन । तपाईलाई मेन्सन गरेको ट्विटमा पनि तपाईले रिप्लाई गर्नु भएन भने त्यो ठूलो कुरा हैन ।
  • व्यक्तिगत कुराकानी डाईरेक्ट म्यासेजमार्फत् गर्न सकिन्छ । गोप्य वा अरुलाई मतलब नभएको कुरा डाईरेक्ट म्यासेजमा गर्ने चलन छ ।
  • ट्विटरमा सर्च गरेर आफ्नो बारेमा भइरहेको कुराकानी थाहा पाउन सक्नु हुन्छ । आफ्नै बारेमा भएको कुरा पनि मन नलागे सहभागी नहुन सक्नु हुन्छ ।
  • धेरै फिचर नभएकोले म्यानेज गर्न धेरै सजिलो छ । आफ्ना कुरा राख्न सजिलो छ । ट्विटरको मुख्य कुरा भनेको फलो अनफलो र ट्विट मात्र हो ।
  • तपाईको कुरा कसैले विरोध गर्छ भने त्यसलाई मतलब नगर्न सक्नु हुन्छ । कसैले तपाईलाई अनफलो गरेपछि उसले तपाईको कुरा सुन्न पर्दैन । तपाई मज्जाले आफ्नो कुरा भन्न सक्नुहुन्छ ।
  • गतिला र गहकिला ट्विट कसैले रि–ट्विट गर्दिन सक्छन् र यो कुरा तपाँई फलोवरको मात्र सीमित नरही फलोवरको पनि फलोवरमा पनि पुग्छ । यस्तोमा तपाईले थप फलोवर भेट्नु हुन्छ ।
  •  नेपालको परिप्रेक्ष्यमा धेरै ट्विटर प्रयोकर्ताहरु सूचना प्रविधिसँग नजिक रहेका वा यससँग काम गरिरहेका देखिन्छन् तर कुरा क्रिकेट, राजनीतिदेखि समग्र राज्यव्यवस्थाबारे नै भैदिन्छ । तर यो सब विषय तपाईले कस्ता मान्छे फलो गर्नु भो भन्ने कुरामा भर पर्छ ।
  • ट्विट ट्रेन्डले विश्वव्यापीरुपमै पनि कुराकानीको जल्दोबल्दो विषय थाहा लाग्छ । ती विषयबारे धारणा बनाउन परे त्यो विषयलाई सर्च गरी मान्छेहरु के के भन्छन् भन्ने थाहा लाग्छ ।
  • १ सय ४० अक्षरमा कुरा सक्नु पर्ने भएकोले लम्बेतान अनावश्यक कुरा सुन्न पर्दैन । आफ्नो कुरा पनि थोरै शब्दमा सटिकरुपले प्रस्तुत गर्ने बानी बस्छ ।
नोट: यो लेख यसै साईबर चौतारीमा प्रकाशित लेखलाई  पुर्नलेखन गरी ब्लाष्ट दैनिकमा प्रकाशन गरीएको हो । ब्लाष्टमा दैनिकमा मिती २०६८ फागुन २१ गते आईतबार प्रकाशन भएको थियो । पत्रिकामा छापीएको  आकारमा हेर्न यहाँ क्लीक गर्नुहोस ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।