Wednesday, June 6, 2012

ब्लग र ब्लगिङ्ग

सरलरुपमा भन्नुपर्दा ब्लग भनेको ईन्टरनेटमा तयार गरिने अनलाईन डायरी हो । यसमा तपाईले आफ्नो अनुभव र अनुभूतिलाई क्रमबद्ध्ररुपमा राख्न सक्नुहुन्छ । जसरी दैनिकी लेखिंदा व्यक्ति आत्मकेन्द्रित भएर आफूलाई मनमा लागेका कुरा स्वच्छन्दरूपले व्यक्त गर्नसक्छ, त्यो कुरा ब्लगमा पनि सम्भव छ । अहिले कर्पोरेट ब्लग र ग्रुप ब्लगको अवधारणाको विकास हँदै गए पनि प्रारम्भमा यो प्रणाली व्यक्तिकेन्द्रित थियो । एकैजनाले सामग्री तयार गर्नेदेखि प्रकाशन गर्नेसम्मको कार्य गर्दथे र ब्लगिङ गर्ने वेबसाईटको निर्माण पनि त्यही हिसाबले भएको पाइन्छ ।

हालको चलनचल्तीको भाषामा ब्लगिङ गरिरहेका केही व्यक्ति र स्वयम् आफ्नो कार्यलाई पनि सन् १९९८ मा जर्न बार्गर भन्ने व्यक्तिले पहिलोपटक वेबलग भन्ने नाम दिएका थिए । वेब लगबाट नै ब्लग शब्द निर्माण भएको मानिन्छ । कसैकसैले यसलाई वि ब्लग पनि भन्छन् । ब्लग गर्ने व्यक्तिलाई ब्लगर भनिन्छ भने ब्लग गर्ने प्रक्रियालाई ब्लगगिङ भनिन्छ र पोष्ट गर्नको लागि लेखिएको लेखलाई ब्लगपोष्ट भनिन्छ । सन् १९९९ मा ब्लगर डटकम र यस्तै खालका अन्य ब्लगिङ साइट सञ्चालन भएसँगै वेब डिजाईन वा कम्प्युटरसम्बन्धी खासै दख्खल नभएका व्यक्तिहरुले पनि सहजरुपमा ब्लगिङ गर्न थालेका हुन् ।

नेपालमा ब्लगिङको विकासको बारेमा कुरा गर्ने हो भन्ने ठ्याक्कै यही मितिबाट शुरु भयो होला भन्न गाह्रो छ । त्यसमाथि पनि ब्लगको सञ्चालनमा र प्रयोगमा प्रवासमा रहेका नेपालीहरुको उल्लेख्य सहभागिताको कारणले यस क्षेत्रमा को प्रथम भन्ने कुरा झन् जटिल छ । तर नेपालमा २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजनैतिक कु गरी शासनसत्ता आफ्नो हातमा लिएपछिको परिस्थितिमा सरकारी नीतिका कारण केही मूल धारका मिडीयाले सेल्फ सेन्सरसीप लागू गरेपछि वैकल्पिक सञ्चारमाध्ययमको रुपमा ब्लगको प्रयोग बढेको देखिन्छ । त्यसबेला यस कार्यमा मूल धारको पत्रकारितामा संलग्न रहेका केही युवा पत्रकारहरु नै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न थिए । राजाको शासनकालमा सञ्चार र स्वतन्त्रताप्रतिको अनुदार नीतिको कारणले तत्कालीन ब्लगरहरु जे देख्थे र सुन्थे त्यही लेख्दथे । त्यसैले त्यसबेलादेखि ब्लग नै अतिरिक्त समाचार स्रोतको रुपमा रहन गएको छ । शुरुवातमा मूल धारका मिडियामा कार्यरत् पत्रकारहरु नै ब्लगिङमा क्रियाशील भइदिंदा नेपालमा ब्लगलाई न्यूज पोर्टलको रुपमा बढी बुझिन थालेको थियो तर समयको अन्तरालस“गै यो सोच बदलिंदो छ । अहिले नेपालीहरुले सञ्चालन गरेको ब्लगमा समाचार मात्र हैन कला, साहित्य, सूचना प्रविधि, आत्मपरक दैनिकीदेखि यात्रा संस्मरणसम्म पढ्न पाइन्छ ।

तपाई हामी जोसुकैले पनि आफ्नो ब्लग सञ्चालन गर्ने चाहने हो भने अहिले यो सहज सम्भव छ । यसको लागि वेब प्रोग्रामिङसम्बन्धी ज्ञान हुनुपर्छ भन्ने पनि छैन तर छ भने तपाईले ब्लगिङमा अझ बढी केही गर्न सक्नुहुन्छ । अहिले ब्लगिङ प्लेटफर्महरुमा WYSIWYG (ह्वाट यु सी ईज ह्वाट यु गेट ) फिचर जडान गरिएको हुनाले तपाईले माईक्रोसÏट वर्डजस्ता जुनसुकै वर्ड प्रोसेसर प्रोग्राममा चिठ्ठीपत्र टाईप गरेजस्तै आकार सानो–ठूलो पार्न, आरको रङ परिवर्तन गर्न, आफ्नो ब्लगपोष्टको बिचमा फोटो राख्न, ब्लगपोष्टभित्र फोटोको साईज घटाउन बढाउन तथा यसको स्थान तोक्न र पेज ब्रेक गर्न सक्नुहुन्छ । वर्डप्रेस डटकम, ब्लगर डटकम, ब्लगसम डटकम आदि केही नाम चलेका अनलाईन ब्लगिङ प्लेटफर्म हुन् । जोसुकैले पनि आफ्नो ब्लग सञ्चालन गर्न सम्बन्धित वेबसाईटमा गएर आफूलाई दर्ता गर्नुपर्छ । दर्ता गर्ने क्रममा दर्तावालाले आफ्नो ब्लगको ठेगाना के रहने हो सो पनि तोक्नुपर्छ अनि सो प्रक्रिया पूरा गरेपछि आफ्नो ब्लग ठेगाना संसारको कुनै पनि स्थानबाट आफ्नो वेब ब्राउजरमा हालेपछि सो ब्लगसाइट खुल्छ । यस लेखको शुरुवातमा ब्लगलाई अनलाईन डायरी भनिएकोले यदि तपाई आफ्नो डायरी गोप्य राख्न वा केही हित्तचित्त मिलेका हितैषीलाई मात्र देखाउँछु भन्नुहुन्छ भने पनि यो सहज सम्भव छ । तपाई आफ्नो ब्लगपोष्टलाई निमेषभरमै संसारभरिबाट हेर्न मिल्ने गरी सार्वजनिक गर्नेदेखि कसैले वा केहीले हेर्न मिल्ने गरी पासवर्ड प्रोटेक्ट गर्न सक्नुहुन्छ ।
यो लेख पुर्वाञ्चल बाट निस्कने स्थानिय ब्लाष्ट दैनिकको लागी तयार गरीएको थियो । यस लेखलाई मिती २०६९ जेठ २१ गतेको ब्लाष्ट दैनिकमा पनि भेट्न सकिन्छ । पत्रिकामा छापीएको आकारमा पढ्न यहा क्लीक गर्नु होस ।