Saturday, October 13, 2012

ब्लगबाट निरन्तर अभियान

सर्च गरी–गरी आफूलाई मन लागेको विषयमा ब्लग पढ्ने गर्नुभएको छ भनेर भोलि र पर्सि गुगलको ब्लगसर्च डट गुगल डट कममा गएर ‘पावर अफ वी’ भनेर सर्च गर्नुहोला । हजारौ संख्यामा संसारभर कुना–कुनाबाट आफ्नो समुदायमा देखिएका असमानता, परतन्त्रता र भ्रष्टाचारविरोधी लेखहरु पढ्न पाउनु हुनेछ । यसरी एउटै विषयमा धेरैले लेखेका ब्लगपोष्टहरु भेटिनुको कारण चाहि ‘ब्लग एक्सन दिवस’ हो । यो दिवस प्रत्येक वर्ष अक्टोबर १५ तारिखका दिन विश्वभर मनाइन्छ । सन् २००७ देखि मनाउन थालिएको यस दिवसलाई व्यक्ति विशेषमा धारणा निर्माणका लागि प्रभाव पार्न सक्ने मानिएका प्रभावशाली निकायका आधिकारिक ब्लगसाइटहरुले पनि साथ दिने गरेका छन् । अमेरिकी राष्ट्रपतिको आधिकारिक ब्लगसाइटदेखि गुगल अफिसियल ब्लग यस कार्यक्रममा सहभागी भइसकेका ब्लगसाइटका उदाहरण हुन् ।
सन्दर्भ : ब्लग एक्सन डे - २०१२
यस कार्यक्रमको शुरुआत सन् २००७ मा कोलिस ट्येड, सायन ट्येड र लिओ बाबुटा नाम गरेका ब्लगहरुले गरेका थिए । विश्वविख्यात वेब होस्टिङ कम्पनी इनभ्याटोको सहयोगमा तामझामका साथ मनाइएको २००७ को ‘ब्लग एक्सन डे’ को शीर्षक ‘वातावरण’ थियो । त्यति बेला लगभग साढे २० हजार ब्लगसाइटहरुमा साढे २३ हजार जति ब्लग पोष्ट भएका थिए । त्यस वर्ष टेक्नोराटी नाम गरेको चर्चित साइटले पनि सहभागीता जनाएको थियो । सन् २००८ मा चाहि ब्लग एक्सन डेका दिन गरिबीका बारेमा सामूहिक ब्लगिङ गर्ने निर्णय गरिएको थियो । दोस्रो वर्षको कार्यक्रममा सहभागीको संख्या ह्वात्तै घट्यो तर प्रभाव घटेको मानिएन किनभने यसै कार्यक्रममा युरोपियन युनियनका मन्त्रीले पनि सहभागीता जनाएका थिए ।
त्यस अवसरमा दिनभरिको रेडियो कार्यक्रम पनि सञ्चालन गरिएको थियो । सहभागी चाहि अघिल्लो वर्षको भन्दा लगभग १० हजारले कम्ती थिए तर १४ हजार ब्लगपोष्ट प्रकाशित भएका थिए । दोस्रो वर्ष र तेस्रो वर्षको कार्यक्रममा सहभागी ब्लगसाइटहरु लगभग उत्तिकै संख्यामा रहे पनि ब्लगपोष्टको संख्याले कीतिर्मान राखेको थियो । तत्कालीन बेलायती प्रधानमन्त्री गोर्डन ब्राउनको सहित ३२ हजार ब्लगपोष्टहरु प्रकाशित भएका थिए ।

सन् २००९ ताका मौसम परिवर्तनका बारेमा विश्वभरिका मौसमविद्हरुमा नाटकीय रुपमा चासो बढेको थियो । त्यसबेला जलवायु परिवर्तनको चिन्ताले कसले के–केमात्र गरेनन् ? नेपालमै पनि सगरमाथाको आधार शिविरमा मन्त्रिपरिषद्को बैठक गरियो भने माल्दिभ्समा समुन्द्रमुनि मन्त्रीहरु भेला भएर बैठक गरे । त्यसै वर्ष विश्वव्यापी लहडलाई पछ्याउदै ब्लग एक्सन डे मनाउने निकायले जलवायु परिवर्तनबारे सामूहिक ब्लगिङ गर्न आह्वान गरेको थियो । विश्वव्यापी चासो बढिरहेको बेला ह्वाइटहाउसको आधिकारिक ब्लगसाइटमा पनि जलवायु परिवर्तनका बारेमा ब्लग एक्सन डेका दिन एउटा ब्लगपोष्ट प्रकाशित भएको थियो । सन् २००९ मै यो कार्यक्रमलाई संयुक्त राष्ट्रसंघको वातावरणीय कार्यक्रमले आर्थिक सहयोग पनि गरेको थियो भने वातावरणको क्षेत्रमा सक्रिय वेबसाइट चेन्ज डट अर्गले प्रायोजन गरेको थियो । विश्वव्यापी रुपमा ध्यान खिचिने गरी यसै वर्ष अमेरिकी राष्ट्रपति कार्यालयको आधिकारिक ब्लग साइटदेखि बेलायती प्रधानमन्त्रीको ब्लगसाइटसम्ममा तोकिएको विषयमा ब्लगपोष्टहरु देखा परेका थिए ।

ब्लग एक्सन डेलाई सन् २००९ को वर्षभरिको वातावरण चिन्तनले सन् २०१० सम्म प्रभाव पारेको देखियो । यो वर्ष पानीका बारेमा सामूहिक ब्लगिङ गरिने निर्णय गरिएको थियो । त्यस्तै, २०११ को ब्लग एक्सन डेको शीर्षक ‘खाना’ थियो । वास्तवमा यो कार्यक्रम विश्व खाद्य दिवसको साझेदारीमा सञ्चालन गरिएको थियो । यस वर्ष ‘पावर अफ वी’ भनेर हाम्रो समाज र यसैको सेरोफेरोमा रहेर समानता र स्वतन्त्रताको पक्षमा र भ्रष्टाचारविरोधी आवाज बुलन्द गरिने भएको छ । यो लेख तयार गर्दासम्ममा १ सय ३ देशबाट ४३ भन्दा बढी भाषामा १७ सयभन्दा बढी ब्लगसाइटले सहभागीता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

र अन्त्यमा, विश्वव्यापी रुपमा सञ्चालन भइरहेको यस कार्यक्रमले विभिन्न पृष्ठभूमिबाट आएका व्यक्तिहरुले एकै विषयमा ब्लगिङ गर्ने हुनाले विषयका विविधतालाई बुझ्न सहयोग पुग्ने देखिन्छ । त्यसैले यदि तपाईं पनि ब्लगिङ गर्नुहुन्छ भने आउनुहोस्, यस वर्षको ब्लग एक्सन डेमा नेपालमा व्याप्त भ्रष्टाचार, असमानता अनि स्वतन्त्रताका नाममा भित्रिएका विकृति र तपाईं–हाम्रो समाजबारे ब्लगिङ गरौं । ब्लगबाट नै भए पनि इन्टरनेटमा पहुँच भएकाहरुलाई हामीमा अन्तर्निहीत शक्तिबारे जागरुक गरौं । जय ब्लगिङ †
 यो लेख मिती २०६९ असोज २८ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापिएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।