Saturday, October 6, 2012

आफै भर्न सकिन्छ डिभी

अमेरिकी सरकारले सञ्चालन गरेको नेपालीहरुको लागी बसाइँ सराइको आकर्षक कार्यक्रम डाइभर्सिटी इमिग्रान्ट भिसा प्रोग्राम (डिभी) लटरी गत मंगलवार  देखी खुल्ला भएको छ । यस कार्यक्रमका लागि आवेदन इलेक्ट्रोनिक माध्यमबाट (वेबसाईटको माध्यम)  सन् २०१२ अक्टोबर २ तारिख मंगलबार ईस्टर्न डेलाइट टाइम (जीएमटी –४) को मध्यान्ह र सन् २०१२ नोभेम्बर ३ तारिख शनिबार ईस्टन डेलाइट टाइम (जीएमटी –४) को मध्यान्हभित्र बुभाइसक्नुपर्ने छ ।  यस कार्यक्रममा सहभागी हुन www.dvlottery.state.gov  ठेगाना भएको वेबसाईटमा गएर त्यहाँ उल्लेख गरेअनुसार प्रक्रिया पुरा गर्नु पर्दछ । तोकिएको समयको अन्तमा धेरै मान्छेहरुले एकै पटक फारम भर्न चाहने हुनाले उल्लेखीत वेबसाईटको सर्भरमा लोड पर्न गई कसैको आवेदन प्रकृया पुरा हुन नसक्ने हुनाले तोकिएको मितीको प्रारम्भमै आवेदन दिन उचित हुन्छ ।  वेबसाईटमा उल्लेख गरे अनुसारको प्रकृया पुरा गरे पछी आवेदन प्रक्रिया पुरा भएको प्रमाण स्वरुप कन्फरमेशन नम्बर प्राप्त हुन्छ र यसै कन्फरमेशन नम्बरको आधारमा पछी आफुलाई चिठ्ठा परे नपरेको थाहा पाउन सकिन्छ । अमेरिकी सरकारको यस कार्यक्रममा कागजी आवेदन स्वीकार गरीदैन ।
डिभी-२०१४ सम्बन्धी पुर्ण जानकारीको लागी नेपाली भाषामा तयार गरिएको यो निर्देशिका पढ्नुहोस
गत बुधवार काठमाण्डौ स्थीत अमेरिकी नियोगको सार्वजनिक अनलाईन साक्ष्यातकार कार्यक्रममा नियोगका जिम्वेवार अधिकारीले यस कार्यक्रममा सहभागी हुन चाहनेले वेबसाईटमा दिईएका निर्देशिकाहरु राम्रो सँग अध्यन गरेर आफै अनलाईन फारम भर्न सुझाव दिईएका छन । लोटरीको आधिकारीक वेबसाईटमा नेपाली भाषामा तयार गरीएको यो प्रकृया सँग सम्बन्धीत पच्चीस पृष्ठ लामो निर्देशिका राखीएको छ । निर्देशिकाको अध्ययन बाट डिभी प्रक्रियामा सामेल हुनको लागि आवश्यक न्युनतम योग्यता देखी फोटोको बारेमा जानकारी पाउन सकिन्छ ।


यस कार्यक्रममा सहभागी हुनको लागी आवेदकको फोटो फाईल अपलोड गर्नु पर्दछ । स्क्यान गरिएको फोटो पनि मान्य हुन्छ तर त्यसको लागी ३०० डिपीआईमा स्क्यान गरिएको र २४० किलोबाईट भन्दा ठुलो फाईल साईजको फोटो मान्य हुदैन । अपलोड गरीने फोटो अनिवार्य रुपमा जेपीईजी फर्म्याटमा हुनु पर्दछ । २४० कलर डेप्थमा सेभ गरीने फोटोको लम्बाई तथा चौडाई ६०० पिक्सेल नै हुनु पर्दछ । डिजीटल क्यामराले खिचेर तयार गरिएको होस वा स्क्यान गरेर तयार गरिएको  होस फोटो फाईलको प्राविधीक उपयुक्तता त्यसै वेबसाईटबाट परिक्षण गर्न सकिन्छ । तर यसरी गरीने परिक्षणमा फोटोको फाईल साईज र लम्बाई चौडाई मात्र परिक्षण गर्दछ । फोटोमा भएको ब्यक्ती निर्देशिकामा उल्लेख भए अनुसारको पोजिसनमा बसेको छ छैन भन्ने कुरा वेबसाईटको फोटो भ्यालिडेशन बाट थाहा लाग्दैन । फोटोमा आवेदकको टाउकोको लम्बाइ वा अनुहारको साइज (कपाल समेत गरी टाउकोको टुप्पा देखि चिउँडोको तल्लो भागसम्म) फोटोको पूरा लम्बाइको ५० देखि ६९ प्रतिशत बीच हनुपर्दछ भने आँखाको उचाइ (फोटोको तल्लो भाग देखि आँखासम्म) फोटोको लम्बाइको ५६ देखि ६९ प्रतिशत बीच हुनुपर्दछ । फोटो लिईने व्यक्तिले सिधा क्यामेरामा हेर्नुपर्दछ । टाउको माथि, तल वा दायाँ–बायाँ ढल्केको हुनुहुँदैन । सादा रङ्गको उज्यालो पृष्ठभूमिमा फोटो खिच्नुपर्दछ । फोटोमा अध्यारो वा बुट्टेदार पृष्ठभूमि मान्य हुनेछैन । साथै अनुहार स्पष्ट रुपमा पहिचान गर्न नसकिने गरी कालो चश्मा वा अन्य पहिरनका सामग्री लगाएको पनि हुनुहुँदैन ।

आवेदनमा आफ्नो पति वा पत्नी तथा २१ वर्ष भन्दा कम उमेरका सबै जीवित प्राकृतिक सन्तानको नाम, जन्ममिति र जन्म स्थान समावेश गरिएको हुनुपर्दछ र (निर्देशिकामा उल्लेख भए अनुसार) उल्लेखित सबै ब्यक्तिहरुको फोटो समावेश गर्नु पर्दछ । भिसा प्राप्त गर्दाको अवश्थामा अवश्थामा भर्खरै २१ वर्ष पार गरेको भए नि विषेश अवश्था मानी निजलाई अभिवावकको संरक्षकत्वमा रहेको सन्तान मानी लैजान सकिने भएको हुनाले आवेदन गर्दा २१ वर्ष नपुगी सकेको भए निजको पनि बिबरण पेश गर्नु उपयुक्त हुन्छ ।

अमेरिकी आप्रवासन कानून र नियम अनुसार हरेक डाइभर्सिटी भिसाका आवेदकसँग कम्तीमा माध्यमिक विद्यालयस्तरको शिक्षा वा त्यसको समानार्थ शिक्षा वा विगत पाँच वर्षमा दुई वर्षको कामको अनुभव हुनुपर्दछ ।  दुई वर्षको काम भन्नाले त्यस्तो काम जसको लागि कम्तीमा दुई वर्षको तालिम वा अनुभव आवश्यक पर्दछ भन्ने बुझिन्छ  भने विद्यालयस्तरको शिक्षा भन्नाले नेपाल बाट प्लस टु वा प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेको भन्ने बुझिन्छ ।  उपयुक्त माध्यमिक तहको शैक्षिक योग्यता नपुगेको खण्डमा दुई वर्षको कामको अनुभवको आधारमा आवेदन दिन चाहनेहरुले अमेरिकी सरकारको यस कार्यक्रममा कस्ता कामलाई मान्यता दिएको छ भन्ने जानकारी वानटुअनलाईन डट ओआरजी मा गएर जानकारी लिन उपयुक्त हुन्छ ।

हरेक क्षेत्रबाट प्राप्त आवेदनहरूलाई अलग अलग रुपमा संख्याकृत गरिन्छ र दर्ता अवधिको अन्त्यमा हरेक भौगोलिक क्षेत्रबाट प्राप्त आवेदनहरूलाई कम्प्युटरले विनाक्रमबद्ध रुपमा छनौट गर्दछ । डिभी-२०१४ को प्रकृयामा छनौट भए नभएको जानकारी  सन २०१३ मे १ देखि  डिभीलटरी डट स्टेट डट जिओभी मा गएर आफुले आवदेन दिदाको बखतमा प्राप्त गरेको कन्फरमेशन नम्बर हालेर पत्ता लगाउन सक्नुहुनेछ । त्यसमा आफ्नो आवेदनको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने बारे निर्देशन दिइएको हुन्छ र आप्रवासी भिसा अन्तर्वार्ताका लागि तपाईंको समय समेत दिइएको हुन्छ । त्यसकारण तपाईंले आफ्नो कन्फर्मेशन नम्बर सुरक्षित राख्न अत्यावश्यक छ ।
यो लेख मिती २०६९ असोज २१ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।