Saturday, November 24, 2012

विन्डोज ८

गत हप्तावाट नेपाली बजारमा माईक्रोसफ्टले नयाँ अपरेटिङ्ग सिस्टम विन्डोज ८ को विधिवतरुपमा  विक्री बितरण शुरु गरेको छ । नेपालको माईक्रोसफ्ट बजार हेर्ने बङ्गलादेशी अधिकारी  पुवुदो भासनायकेको उपस्थीतीमा गत बिहीबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा  नयाँ विन्डोज अपरेटिङ्ग सिस्टमको विशेषता देखि बजार मुल्यबारे जानकारी गराईएको थियो । जस अनुसार विन्डोज ओपरेटिङ्ग सिस्टम (ओएस) का पछिल्ला संस्करणलाई विन्डोज ८ प्रो मा अपग्रेड गर्ने हो भने करिव बत्तिस सय रुपैयाँमा खर्च गर्नु पर्ने हुन्छ तर २ जून २०१२ पछि जेन्युन विन्डोज अपरेटिङ्ग सिस्टम प्रिईन्सटल भएको कम्प्यूटर किनेको प्रमाणित भएको खण्डमा एघार सय रुपया तिरेर नै विन्डोज ८ मा अपग्रेड गर्न सकिन्छ । त्यस्तै अहिले सम्म तपाई माईक्रोसफ्टको पाईरेटेड सफ्टवेयर चलाई रहनु भएको थियो र नयाँ जेन्युन ओएसको डिभीडी किनेर ईन्सटल गर्न चाहनु हुन्छ भनेर तपाईले २०१३ को जनवरी महिना सम्ममा ५६ सय खर्च गरे पुग्छ भने त्यस पछी १७ हजार ६ सय रुपया भुक्तान गर्नु पर्दछ । ब्राण्डेड डेक्सटप र ल्यापटप किन्दा सिस्टममा पहिले नै ईन्सटल भएर आएको अवश्थामा बाहेक हम्मेसी जेन्युन अपरेटिङ्ग सिस्टम नचलाउने नेपाली प्रयोगकर्ताहरुलाई माईक्रोसफ्टको प्रमोशनल प्राईस अफरले खासै असर गर्ने देखीदैन । किन पनी भने काठमाण्डौलाई छोडेर मोफसलको बजारमा जेन्युन ओएस को खरिद बिक्री लगभग शुन्य बराबर छ । एकाधलाई छाडेर धरान, ईटहरी, बिराटनगर जस्ता बजारमा जेन्युन सफ्टवेयर खरिद गर्न सम्भव छैन भने ईन्टरनेट बाट सोझै खरीद गर्नको लागी नेपालका बैकहरुले दिने डेबिट तथा क्रेडिट कार्डहरुले अनलाईन ट्रान्जेक्सन गर्न मिल्दैन । 

जेन्युन होस वा पाईरेटेड यदी तपाईको कम्प्युटरमा विन्डोज ८ ईन्सटल हुन्छ भने यसले अहिले सम्मको तपाईको "अपरेटिङ्ग सिस्टम एक्सपेरियन्स” लाई नयाँ उचाइ दिने छ । साधरणतय यदी तपाईको कम्प्युटरमा विन्डोज सेभेन ओएस ईन्सटल गर्न भएको छ वा गर्न सकिन्छ भने त्यसमा विन्डोज ८ ईन्सटल गर्न सक्नु हुन्छ । तपाईले खरिद गर्दा विन्डोज भिस्टा र एक्सपी भएको कम्प्यूटरमा अहिले विन्डोज ७ ईन्सटल गर्नु भएको छ भने त्यसमा पनि सजिलैसँग विन्डोज ८ अपग्रेड गर्न सकिन्छ।  अझ भनौ तपाईको कम्प्यूटरमा ३२ विट संस्करणको प्रोसेसरमा छ भने कम्तिमा एक जीवीको र्‍याम, एक जीवीको प्रोसेसर, डाइरेक्ट ९ एक्स ग्रफिक्स कार्ड र १६ जीवी हार्ड डिस्क स्पेश छ भने मज्जाले विन्डोज ८ ईन्सटल गर्न सक्नुहुन्छ । त्यस्तै तपाईको सिस्टममा  ६४  विट संस्करणको प्रसेसर छ  भने विन्डोज ८ ईन्सटल गर्नको लागी कम्तीमा २ जीवी र्‍याम र २० जीवी  हार्ड डिस्क स्पेश आवश्यकता पर्दछ ।

विन्डोज ओएसको पछिल्ला संस्करणको बिकास प्रकृया बिपरित पहिलो पटक विल गेट्सको कम्पनीले आफ्नो अपरेटिङ्ग सिस्टमको इन्टरफेसमा निकै ठुलो परिवर्तन गरेको छ ।  परम्परागत स्टार्ट मेनुको सट्टामा टाइल जस्तै देखिने फरक किसीमको मेनु भएकाले अहिलेको परिवर्तनि कम्प्यूटिङ्ग वातावरणमा सुहाँउदो हुने कम्पनीको दावी छ। यसमा टचस्क्रीन विशेषता भएकाले आधुनिक ट्यावलेट तथा ल्यावटपमा आएका हाइव्रिड विशेषतालाई पनि सपोर्ट गर्न सक्ने प्रविधि समावेस गरिएको छ। माईक्रोसफ्टवाला हरुको भनाईमा यो पहिलेका ओएसभन्दा फाष्ट छ । यसले यूएसबी ३ दशमलव ९ डिभाइसलाई पनि सपोर्ट गर्छ । त्यस्तै पछिल्ला ओएसमा भएका भन्दा एकदमै फरक कुरा भनेको यस ओएसमा ईन्ट्रीगेटेड विन्डोज एप स्टोर पनि हो । एप स्टोरमा गएर तपाई स्काईप, फेसबुक देखी स्टीकी नोट सम्मका अत्यावश्यक डेक्सटप क्लाईन्ट सफ्टवेयर निशुल्क डाउनलोड गर्न सक्नु हुन्छ । विन्डोज स्टोरमा विन्डोज ८ सँग कम्प्याटिबल हुने अन्य शशुल्क सफ्टवेयर पनि पाउनुहुन्छ तर तपाईहामी सँग अनलाईन पेमेन्ट गर्ने सुबिधा नभएको हुनाले त्यहाँ बाट डाउनलोड गरी चलाउन सम्भव छैन । विन्डोज ८ ईन्सटल गरी सकेपछी तपाईले माईक्रोसफ्ट एकाउण्टको थप मज्जा पाउनु हुनेछ । टाईल डेक्सटप मै ईमेल लग ईन गर्ने देखी स्काईड्राईभ लगअन गरी अनलाईन डाटा एक्सेस गर्ने सुबिधा पाउनु हुनेछ । विन्डोज ८ निर्माण नै यसरी गरीएको छ कि ईन्ट्रीगेटेड सिस्टम बाट अनलाईन डाटा एक्सेस गरी रहेको बेला पनि तपाईलाई अनलाईन छु जस्तो लाग्दैन ।