Sunday, February 24, 2013

अनलाईन काम पाईने प्रतिनिधी वेबसाईटहरु

घरमै बसी ईन्टरनेट मार्फत काम गर्नको लागी ओजेडवेबरिसोर्ससेज डट कम (www.ozwebresources.com), माईक्रोवर्कस डट कम (www.microworkers.com), फ्रिल्यान्सर डट कम (www.freelancer.com), ओडेस्क डट कम (www.odesk.com) आदी प्रतिनिधी वेबसाईटहरु हुन जसको साहायताले ब्यक्तीको क्षमता र ब्यवशायिक आचरण अनुसार आम्दानी गर्न सकिन्छ ।  उल्लेखित वेबसाईटहरुमा साधारण कम्प्युटर ज्ञान भएकाहरु देखी बिषयगत दक्षता भएका बिज्ञहरुले बिदेशको काम घरमै बसेर  गर्न सक्छन तर अंग्रेजी भाषाको दक्षता पहिलो शर्त हो । भाषागत दक्षता सहित कम्प्युटर एप्लीकेशन (Computer Application)  बारे राम्रो ज्ञान छ भने ईन्टरनेट बाटै आम्दानी गर्न सकिन्छ । आउनुहोस , ति वेबसाईटहरु मध्ये कुन कुन वेबसाईटमा कसरी काम गरीन्छ भन्न बारे चर्चा गरौ ।

ओजेडवेबरिसोर्ससेज डट कम : यो साईट मार्फत अनलाईन बाट काम गर्नको लागी कम्प्युटर र यस सम्बन्धी एप्लीकेशन बारे खासै ठुलो ज्ञान नभए पनि हुन्छ । तर कम्तीमा दोहोरिएका रेकर्ड पत्ता लगाउन सकिने माईक्रोसफ्ट एक्सेल (Microsoft Excel) जस्ता स्पेयरसिट एप्लीकेशन (Spreadsheet Application) को ज्ञान यसमा बान्छनिय देखीन्छ । साधारण अंग्रेजी पढ्ने र बुझ्नेहरुले पनि यसमा दिएका कामहरु गर्न सक्छन । यसमा काम गर्नको लागी सबभन्दा पहिले आफुलाई यस साईटमा दर्ता गर्नु पर्दछ । यस वेबसाईटमा उल्लेख भए अनुसार दर्ता गर्नको लागी  लगभग पचास अमेरिकन डलर भुक्तान गर्नु पर्दछ । तर नेपालमा भने दर्ता तथा तालिम शुल्क भनेर नेपालमा दस देखी पच्चीस हजार सम्म लिने गरेको पाईन्छ ।
यस वेबसाईटमा मुख्यत बिज्ञापन पोष्टीङ्ग (Ad Posting) को काम गरिन्छ । क्लासिफाईड साईट (Classified Sites) हरु (ईन्टरनेटमा बर्गिकृत बिज्ञापन पोष्ट गर्न मिल्ने वेबसाईट) आफैले खोज्नु पर्दछ ।  यसमा निश्चीत देशका क्लासिफाईड वेबसाईटहरु मात्र स्वीकार गरीने भनेर सिमितता तोकिएको हुन्छ । सय वटा क्लीफाईड एडलाई अन्य वेबसाईटहरुमा लगेर कपी पेष्ट गरी रिपोर्ट (Report) तयार गरे वापत लगभग चार डलर आम्दानी गर्न सकीन्छ । निश्चीत समयको लागी कुनै वेबसाईटमा एक पटक मात्र एड पोष्ट गर्न मिल्नु ,  तोकिएका विषयको बारेमा निश्चीत देशका क्लासिफाईड वेबसाईटहरु मात्र खोजेर एड पोष्ट (Ad post) गर्नु पर्ने हुनु आदी यस साईटमा अप्ठ्यारा हुन । गुगलमा गएर सर्च गर्नु भयो भने यससाईटको त्यो बिघ्न राम्रो रेपुटेसन (Reputation) देखिदैन । लामो समय सम्म धेरै पैसा जम्मा गरी राख्दा वेबसाईटवालाले पैसा नदिएको वा ढिलो दिएको कम्प्लेन (Complain) देख्न सकिन्छ ।

माईक्रोवर्कस डट कम : यस साईटमा ओजेडवेबरिसोर्ससेज डट कम भन्दा अलि स्तरीय काम र आम्दानी गर्न सकिन्छ । यस वेमा कुनै अर्को वेबसाईटमा गएर दर्ता गर्नु पर्ने , कुनै लिङ्क क्लीक वा बुकमार्क (Bookmark) गर्नु पर्ने ,फेसबुक, ट्वीटर, पिनटेरेष्ट जस्ता जस्ता सामाजिक सञ्जाल वेबसाईटहरुमा गएर कुनै वेबसाईट को बिज्ञापन गर्न तयार गरीएको लिङ्क पोष्ट गर्नु पर्ने लगायतका काम पाईन्छ  ।  तोकिएको काम गर्दा सो को प्रमाण अनिवार्य रुपमा पेश गर्नु पर्छ । लिङ्क शेयर गर्ने काम गर्दा खासै राम्रो आम्दानी गर्न सकिने देखीदैन तर अंग्रेजी भाषामा राम्रो दख्खल छ भने फोरम (Forum) मा पोष्ट गर्ने, कुनै सफ्टवेयर डाउनलोड (Software Download) गरी त्यसको रिभ्यु लेख्ने , कुनै ब्लगमा कमेन्ट गर्ने , कुनै तोकिएको बिषयबारे आर्टिकल तयार गर्ने , ब्लग लेख्ने जस्ता कामहरु पाउन सकिन्छ जस वापत यस वेबसाईटले तपाईलाई राम्रो भुक्तानी गर्दछ । यस साईटको राम्रो पक्ष भनेको कुनै पनि काम दिदा सो काम कसरी गर्नु पर्ने हो त्यसको स्पष्ट गाईडलाईन हुनु र दर्ता शुल्क नलाग्नु हो । बाँकी आफ्नो क्षमताको आधारमा कमाउन सकिने कुरा हुन ।


फ्रिल्यान्सर डट कम : ओजेडवेबरिसोर्ससेज र माईक्रोवर्कर्स डट कम को कामले खासै चित्त बुझेन भने एक पटक तपाई फ्रिल्यान्सर डट कम ट्राई गर्न सक्नु हुन्छ । यो स्वतन्त्र रुपमा घरै बसी बाहीरको गर्नको लागी कहलिएको वेबसाईट हो । यसमा अरु जस्तो वेबसाईट आफैले काम दिने , खोज्ने काम गर्दैन । यस वेबसाईटले निश्चीत कमिशन लिएर काम गर्ने गराउने बिच विश्वासको बाताबरण तयार गर्ने , काम गरे वापत भुक्तान गर्नु पर्ने रकमको निश्चीत प्रतिशत धरौटी लिई दिने  काम गर्दछ ।  यस साईटले यसै मार्फत सिप योग्यताको परिक्षा लिएर उतिर्ण हुनेहरुलाई राम्रो  काम दिने गर्दछ । यस वेबसाईटमा वेबसाईट (Website), मोबाईल फोन एप्लीकेशन निर्माण , डिजाईनिङ्ग (Designing) , घरै बसेर गर्न सकिने ईन्जीनियरिङ्ग, सेल्स (Sales) , मार्केटिङ्ग (Marketing), एकाउन्टिङ्ग (Accounting), कानुनी (Law), भाषा (Language) लगायत कन्टेन्ट राईटिङ्ग (Content Writing) को काम पाउन सकिन्छ । यस वेबसाईट मार्फत काम गर्दा कम दिने र लिने दुवै पुर्ण सन्तुष्ट हुन भनेर यि दुई पक्ष बिच वेबसाईट मार्फत संबादको प्रावधान रहेकोले कम्तीमा अंग्रेजी भाषाको दक्षता पहिले अनिवार्यता हो ।

ओडेस्क डट कम : फ्रिल्यासिङ्गको क्षेत्रमा यस साईटको माथी उल्लेख गरिएका साईटहरु भन्दा भिन्दै प्रकारको पहिचान छ । यहाँ काम पाउन माथी उल्लेख गरिएका साईटहरुको तुलनामा गार्हो छ । यसमा तपाईको कुनै पनि योग्यताको दक्षता परिक्षण गर्ने  परिक्षा  पास गर्नु पर्दछ । पास गर्नु भयो भने तपाईले धेरै कामहरुको बिज्ञापन देख्न सक्नु हुन्छ । नत्र तपाईले एक पटकमा उपलब्ध काम भनेर दुई वटा मात्र विकल्प भेट्नु हुन्छ । अन्य फ्रिल्यान्सिङ्ग वेबसाईटहरुको तुलनामा यसको परिक्षा प्राणाली कठीन छ । नेपालको श्रम बजार र नेपालका कम्प्युटर ईन्सीच्युट (Computer Institute) हरुमा दिईने शिक्षा हेर्दा यस वेब साईटको परिक्षा पास गर्न सक्ने ब्यक्तीले यसरी अनलाईनमा  काम खोज्दै हिड्नु पर्दैन । उसलाई विषिष्ठ ज्ञान भएको बिज्ञ भन्दा फरक पर्दैन । :P

माथी उल्लेख गरीएका वेबसाईटहरुको सार के हो भने अनलाईन काम गरेर आम्दानी गर्नको लागी अन्तराष्ट्रीय ग्राहक सँग संवाद गर्ने भाषागत दक्षता र आफु सँग सिप र त्यसलाई बेच्न सक्ने खुबी हुनु पर्दछ । त्यसैले , अनलाईन काम गर्ने भनेर कसैले विचार गरी रहेको छ भने उसले सबभन्दा पहिले आफ्नो दक्षता र सिपको पहिचान गर्न जरुरी देखीन्छ ।
यो लेख मिती २०६९ फागुन १३ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीख गर्नुहोस