Sunday, February 23, 2014

ह्वाट्स अप फेसबुक !

कुनै पनि कुराको उत्कर्षमा पुगेपछी के ? भन्ने प्रश्न बढो दार्शनिक लाग्न सक्छ ।  सामाजिक सञ्जाल वेबसाईटमा सफल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई पनि यो प्रश्नले चिमोटेको हुनु पर्छ । तर उनि निरुत्तर देखीएका छैनन । कम्तीमा उनको गतिविधीले यो झल्को दिन थालेको छ । विश्वका एक से एक सामाजिक सञ्जाल विश्लेशकहरु फेसबुक ओरालो लाग्दै गरेको निस्कर्ष निकाल्दैछन भन्ने जुकरबर्ग त्यही फेसबुकले कमाएको पैसा लगानी गर्दैछन । यसलाई भविष्यको लागी लगानी गरेको भन्न सकिएला । अघिल्लो वर्ष एक बिलीयन डलरमा (हालको विनिमय दर अनुसार उनान्सय करोड नेपाली रुपयाँ) ईन्स्टाग्राम खरिद गरेका उनले यसपाली विश्वलाई चकित पार्दै उन्नाईस बिलियन अमेरिकन डलर (हालको बिनिमय दर अनुसार उन्नाईस खर्ब नेपाली रुपयाँ ) मा प्रसिद्द मोबाईल म्यासेजिङ्ग (तथा ईन्टरनेटको साहायताले फोन गर्न मिल्ने ) एप्लीकेशन ह्वाट्स एप खरीद गरेका छन । दुनिया चकित परेको यो रकम चालु आर्थीक वर्षको नेपालको बजेट सँग तुलना गर्ने हो भने यो झण्डै पाँच वर्षको नेपाल बार्षिक बजेट हो । यो आंकडाले नेपालको बजेटलाई मात्र हैन विश्वका नेपाल जस्तै आर्थिक अवश्था भएका करिव पन्ध्रवटा देशको वार्षिक बजेटलाई पछी पारेको छ ।

फेसबुकले यती ठुलो रकम खर्चेर खरिद गर्न लागेको ह्वाट्स एप आफैमा त्यती ठुलो नविनतम उत्पादन चाँही हैन । विश्वभरीमा पैतालिस करोड प्रयोगकर्ता रहेको भनिएको यस एप्लीकेशनको काम धेरै हद सम्म प्रसिद्द मोबाईल एप्लीकेशन भाईबर सँग मिल्न जान्छ । जसलाई भर्खरै एक जानपनिक कम्पनीले ह्वाट्स एपको भन्दा झण्डै २१ गुना कम्ती पैसामा खरिद गरेको छ । भाईबर जस्तै ह्वाट्स एप पनि आईओएस, एनड्रोईड, ब्लाकबेरी, नोकिया देखी विन्डोज अपरेटिङ्ग सिस्टम जडान गरीएको मोबाईलमा काम गर्ने गर्दछ । करिव चार वर्ष अगाडी स्थापन भएको एस कम्पनीका संस्थापक मध्ये एकले यो एप्लीकेशन बनाउनु भन्दा पहिले फेसबुकमै जागिर माग्न जाँदा रित्तो हात फर्किनु परेको बताईन्छ भने त्यही कम्पनीले उनिहरुलाई उन्नाईस बिलीयन बराबरको चल अचल सम्पती भुक्तानी गर्दैछ ।

प्रारम्भीक चरणको सम्झौता सम्पन्न गरी सकेको फेसबुकले पछी यो एप्लीकेशन खरिद नगर्ने निर्णय गरेमा एक बिलीयन नगद र एक बिलीयन बराबरको फेसबुकको शेयर हर्जाना स्वारुप ह्वाट्स एपलाई भुक्तानी गर्नु पर्ने छ भने फेसबुकको उप्पल्लो निकायले बिना कुनै अबरोध खरिद गर्ने भएमा ४ बिलियन डलर नगद र १२ बिलियन डलर बराबरको फेसबुक सेयर दिनेछ भने ३ बिलियन डलर आगामी ४ वर्षमा व्हाट्सएपका संस्थापक र कर्मचारीहरुलाई फेसबुकको स्टकको रुपमा दिनेछ । जे होस उन्नाईस बिलीयनमा उन्नाईस बिलीयन नगदनै फेसबुकले ह्वाट्स एपका संस्थापकहरुलाई भुक्तानी नगरे पनि सो बराबरको सम्पती फेसबुकको चल अचल सम्पतीबाट घट्ने छ भने बदलामा एउटा मोबाईल एप्लीकेशन प्राप्त गर्ने छ ।

प्रयोगकर्ताको संख्या फरक हुन सक्दछ तर बिभिन्न नाममा ह्वाट्स एप जस्तै थुप्रै एप्लीकेशन छ्यास्छ्यास्ति आईरहेको परिप्रेक्ष्यमा विश्वका भरिका टेक पण्डीतहरु फेसबुकले खरिद गरेको उत्पादन भन्दा पनि त्यसलाई भुक्तानी गर्न लागेकाको रकमका बारे आश्चर्यमा परेका छन । वास्तबमै नयाँ पुस्ताका किशोर किशोरीहरु फेसबुक भन्दा पनि मोबाईलजन्य उत्पादनमा (एप्लीकेशनमा) उत्सुक भएको तथ्यलाई आत्मसाथ गरेर फेसबुक पछी के भन्ने हिसाबले रणनैतिक रुपमा फेसबुकले ह्वाट्स एपलाई त्यती ठुलो रकम लगानी गरेर खरिद गरेको हुन सक्दछन तर दुनिया त्यसलाई खरीद गरेको रकमा आश्चर्य मानी रहेको छ । वास्तबमै फेसबुकले ह्वाट्स एपको लागी ठुलो लगानी गरेको छ । ह्वाट्स एप खरिद गर्दा लागेको रकम माईक्रोसफ्टले स्काइप खरिद गर्दा तिरेको रकम भन्दा दोब्बर याहुले टम्लर खरिद गर्दा तिरेको रकम भन्दा अठार गुना बढी फेसबुकले नै किनेको इन्स्टाग्राम भन्दा उन्नाईस गुना बढी छ । यहाँ सबभन्दा रमाईलो कुरा त के छ भन्ने ठ्याक्क ह्वाट्स एप जस्तै काम गर्ने भाईबरलाई भन्दा एक्काईस गुणा बढी तिरेर फेसबुकले ह्वाट्स एप खरिद गर्न लागेको छ ।
यो लेख मिती २०७० फागुन ११ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।