Sunday, May 18, 2014

गुगल प्लसको भविष्य

फेसबुकलाई टक्कर दिने अभिप्रायले गुगलले सञ्चालनमा ल्याएको सोसल नेटवर्किङ्ग वेबसाईट गुगल प्लस बन्द हुदैछ । भन्ने हल्लाले गत सप्ताह ठुलै चर्चा पायो । गुगलले आधिकारिक रूपमा यसबारे कुनै जानकारी सार्वजनिक नगरेको भएता पनि गुगलबाट गुगल प्लसका प्रमुखले बिदा लिनु , गुगलको मुख्यालयमा गुगल प्लसको सञ्चालनमा कार्यरत कर्मचारीहरू सरुवा गरेर अन्य उत्पादन शाखामा सरुवा गरिन लागेको कुराले यस हल्लालाई बल पुगेको थियो । हल्लाले विश्वासको रूप लिन लागे पछि मात्र गुगलका प्रबक्ताले घुमाएर गुगलमा प्लसमा रहेका कतिपय फिचरहरुलाई प्रयोगकर्ताहरुले रुचाएको कुरा गरेर घटनालाई थामथुम पार्न खोजेका छन्  । अब गुगलले गुगल प्लसको बन्द गरेर त्यसमा रहेका र मन पराईएका कतिपय फिचरलाई गुगलका अन्य उत्पादन वेबसाईटहरुमा समाहित गर्ने लागेको अनुमान गर्ने थालिएको छ ।

सन २०११ जुन २२ तारिख देखि सञ्चालनमा रहेको यस वेबसाईटमा सुरुवातको पहिलो छ महिनामा १५० मिलियन प्रयोगकर्ता थिए भने त्यसको झण्डै दुई वर्षमा जम्मा ३९० मिलियन प्रयोगकर्ताहरु मात्र थपिएका छन् । यसले यसका प्रयोगकर्ताहरु उत्साहित छैनन् भन्ने कुराको पनि सङ्केत गर्दछ । जस्तो कि प्रारम्भमा गुगल प्लसमा खाता खोल्नको लागी गुगलबाट सोझै वा गुगल प्लसकै कुनै प्रयोगकर्तहरुले निमन्त्रणा पठाउनु पर्ने प्रावधान थियो । यसै कारणले पनि प्रयोगकर्ताहरु माझ यसको प्रयोगमा कौतुहलता सिर्जना गरेको हुनसक्छ । आशा गरे अनुरूप खासै केही नभेटिएकोले त्यतिबेलै देखी धेरैले चलाउन छोडे र यसको प्रभाव नयाँ प्रयोकर्ताहरुमा पनि पर्‍यो । वास्तवमा गुगलले दाबी गरेको ५४० मिलियन प्रयोगकर्तहरुमा गुगल खाताको प्रयोग गरेर गुगल प्लस एक्टीभेट गरी  फेरी कहिले गुगल प्लस नखोल्ने प्रयोगकर्तहरु पनि पर्छन ।  हुनलाई फेसबुकमै पनि निस्क्रीय प्रयोगकर्ताहरु मनग्यै छन् तर पनि फेसबुकमा खाता खोली सकेको प्रयोगकर्ताहरुको सङ्ख्या ७५० मिलियन छ । विकीपेडियाका  अनुसार  विश्वभरीमै एक औसत प्रयोगकर्ताले एक महिनामा साढे सात घण्टा फेसबुकमा समय बिताउछ भने गुगल प्लसमा जम्मा सालाखाला साढे तिन मिनेट  ।

फेसबुकको जस्तो साथी सर्कलमा आफ्नो स्टाटस अपडेट गर्ने मिल्ने , फ्लीकरमा जस्तो फोटो स्टोर गर्ने मिल्ने, स्काईपमा जस्तो ग्रुप च्याट गर्न मिल्ने बिशेशताहरुलाई गुगलले आफ्नो शैलीमा अतिरिक्त सुविधाहरू थपेर सामाजिक सञ्जालको वेबसाईटको रूपमा गुगल प्लसलाई प्रयोगमा ल्याएको थियो । यसको अवसानले गुगलको महत्वाकांक्षी योजना मात्र समाप्त भएको छैन , प्रयोगकर्ताहरुको रोजाई लाई पनि प्रतिबिम्बित गरेको छ । यसै पनि गुगल प्लसलाई गुगलका इन्जिनियर तथा गुगलका डाई हार्ट फ्यानहरुले प्रयोग गर्ने सोसल नेटवर्किङ्ग वेबसाईट भनेर ब्यङ्गय गर्ने गरिन्छ  गुगलको आफ्नै उत्पादनहरुको ठेली र त्यसलाई  उसकै शैलीमा एकै वेबसाईटहरुमा मिलाएर राख्न खोज्ने प्रयासलाई कतिपयले त्यसको  भविष्य सँग जोडेर हेर्ने गरेका छन् ।

जिमेल खाता खोल्नेहरुले स्वतः: प्राप्त गर्ने गुगल प्लसको खाता पछि त्यसै कारणले आलोचित हुँदै गरेको थियो ।  गुगलले अन्य इमेल ठेगाना हुनेहरुलाई सोझै गुगल खाता खोल्न दिएन भने प्रयोगकर्ताहरुले   एउटा सोसल नेटवर्क वेबसाईट प्रयोग गर्नकै लागी आफ्नो इमेल ठेगाना परिवर्तन गर्ने वा एक भन्दा बढी व्यक्तिगत इमेल बनाउने झन्झट गर्न चाहेनन । आफ्नो डोमेनबाट गुगलका उत्पादन प्रयोग गर्ने मिल्ने गुगल एप्सका प्रयोगकर्ताहरुलाई पनि गुगलले धेरै पछि मात्र गुगल प्लस चलाउन दिएको थियो ।  प्रारम्भमै सबै सेवाहरू आफ्नो कम्पनीको मात्र प्रयोग गरुन भन्ने गुगलको सोचलाई प्रर्योगकर्ताहरुले मन पराएको देखिएको थिएन । गुगलले आफ्ना प्रतिष्पर्थीहरुको प्रयोगकर्ताहरुलाई नजरअन्दाज गर्नु नै गुगल प्लसको असफलताको कारण मान्ने गरेका छन् ।

फेसबुक , ट्वीटर जस्ता सामाजिक सञ्जाल वेबसाईटहरुले आफ्नो साम्राज्य खडा गरी रहदाँ गुगललाई वास्तवमै ठुलो पिर परेको छ । सामाजिक सञ्जाल वेबसाईटको बजार आफूतिर आकर्षित गर्नको लागि गुगलको त्यस्तै खालको वेबसाईटको रूपमा प्रयोगमा ल्याएको वेबसाईट यो पहिलो भने हैन । यस भन्दा पहिले  गुगल वेभ,  गुगल बज,  गुगल फ्रेण्ड कनेक्ट , अर्कुट जस्ता वेबसाईटहरुको असफल परीक्षण गरीसकेको थियो ।