Sunday, August 24, 2014

लाइन बसेर गर्नु पर्ने भुक्तानीका विकल्पहरू

आर्थिक वर्ष २०७१/७२ को बजेट भाषणमा अर्थमन्त्री रामशरण महतले इन्टरनेटमार्फत वार्षिक बिस हजार अमेरिकी डलर सम्मको भुक्तानी गर्न मिल्ने व्यवस्था गरिने बताएका थिए ।  सरकारको उक्त कार्यक्रमको पूर्ण कार्यन्वयबाट इन्टरनेटमै बसी बसी विदेशको कम्प्युटर सम्बन्धी काम गर्ने तथा इन्टरनेटबाट आफूलाई आवश्यक पर्ने सफ्टवेयर खरिद गर्न चाहनेहरूलाई सबभन्दा बढी फाइदा पुग्ने देखिन्छ । धेरैले सरकारको यस नीतिले अनलाइन भुक्तानीको झन्झटीलो र अव्यवहारिक विद्यमान प्रक्रियालाई खुकुलो पार्ने अनुमान गरेका छन् । यद्यपि हाल सम्म कुनै पनि बैकहरूले सो सेवा सुरु गरी सकेका भए आफ्ना ग्राहकहरूलाई त्यसको बारेमा जानकारी गराएका छैनन् । त्यसैले सरकारको सो कार्यक्रम कार्यान्वयनको तयारीकै चरणमा होला भन्न सकिन्छ ।



यसै पनि सरकारले यस किसिमको कार्यक्रम ल्याउनु अगावै निजी क्षेत्रका कम्पनीहरूले यस्तै खालको सेवा दिइरहेका छन् । मुन्चा डट कम,  भाटभटेनि डिपार्टमेन्टल स्टोर , हरिलो डट कम, ई-सेवा आदी यसको उदारण हो । मुन्चा डटकम तथा भाटभटेनी डिपार्टमेन्टल स्टोरको अनलाइन पोर्टलमा गएर तपाईँले विदेशमा झैँ इन्टरनेट मार्फत दैनिक उपभोग्य सामान देखी उपहार लगायतका समानहरु खरिद गर्न सक्नुहुन्छ । भुक्तानीको लागी नेपालका इन्टरनेट बैङ्किङ्ग सेवा उपलब्ध गराई रहेका बैकहरुको ईबैङ्कीग खाता प्रयोग गर्न सकिन्छ भने अनलाइन ट्रान्सजेक्सन गर्न मिल्ने भिसा, माष्टरकार्डको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्न सकिन्छ । नेपालमा रहेकका नेपालीहरूको लागी भने कार्ड मार्फत भुक्तानी गर्न सहज छैन । यसपालिको बजेट भाषणले सोही समस्या सामाधान गर्ने आशा देखाएको हो ।  इन्टरनेटबाट भुक्तानी गर्ने सम्बन्धमा ईसेवा, ईपे, पेनेप, हेल्लो पैसा जस्ता वेबसाईटहरुले उपलब्ध गराएको सेवा विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ ।

अहिले माथि उल्लिखित वेबसाइटहरूले नेपाल टेलिकमको सबै जस्तो सेवाहरुको भुक्तानी गर्ने , प्रमुख एयरलाईन्सहरुको हवाई टिकट खरिद गर्ने, केही प्रमुख दैनिक पत्रिकाहरूको ग्राहक बन्ने, केही कलेज तथा स्कुलको फि तिर्ने , काठमाण्डौ उपत्यकाको हकमा बिजुली तथा पानीको पैसा तिर्न मिल्ने सेवा उपलब्ध गराई रहेका छन् ।  स्मरण रहोस् , सबै सरकारी निकायहरूको कम्प्युटराईज भै रहेको अवस्थामा माथि उल्लिखित सेवा गर्नु भएन भने पनि बिजुली पानीको पैसा एकमुस्ठ अग्रिम भुक्तानी गर्न सकिन्छ । यस किसिमको सेवा धेरै जस्तो शाखाहरुले अङ्गिकार गरेका छन् । घण्टौ लाइनमा बसेर बिजुली पानीको पैसा तिर्नुको विकल्प एकमुष्ट अग्रिम भुक्तानी गरी महिनै पिच्छे सो पैसा काटिदै जानु पनि एक हो । सरकारले अनलाइनको भुक्तानी व्यवस्थित गरी दिएमा यस किसिमका सेवाहरू अझ प्रभावकारी हुँदै जाने देखीन्छन ।

प्रविधिको उच्चतम प्रयोग बढ्दै गइरहेको परिप्रेक्ष्यमा इन्टरनेट मात्र हैन टेलिफोन आकारका पिओएस (Point of Sell) मेसिन पनि विकल्पको रूपमा देखिन थालेका छन् । पिओएस मेसिनको साहायताले तपाईँ अनलाइन पेमेन्ट गर्ने मिल्ने सबै जस्तो भुक्तीहरु गर्न सकिन्छ । डिजिटेक रेमिन्ट्यान्स भन्ने काठमाण्डौको एक कम्पनीले नेपालमा बिक्री प्रर्वदन गरी रहेको यो मेसिनमा एनसेलको एउटा सिमको साहायताले एनसेलको टावर समात्ने जस्तो सुकै स्थानबाट पनि भुक्तानी गर्न मिल्छ । कम्पनीले जनाए अनुसार नेपाल टेलिकमको कुनै पनि सेवा बापतको भुक्तानी बापत प्रयोगकर्ताले उल्टै केही रकम बोनस पाउछन भने अन्यको हकमा जहाँसुकै बाट बिना कुनै शुल्क भुक्तानी गर्न सक्दछन ।

अवश्य पनि , घण्टै लाइन बसेर गर्नु पर्ने भुक्तानी आफूलाई पायक पर्ने स्थान र समयमा भुक्तानी गर्न पाउनु ठुलो सुविधा हो । नेपाली प्रयोगकर्ताहरुलाई सेवा दिइरहेका वेबसाईट तथा डिजिटेकले ल्याएको पिओएस मेसिन प्रयोगकर्ताको सुविधाको लागी सञ्चालित छन् । यसैले पनि भन्न सकिन्छ प्रविधिको प्रयोग हिसाबले सरकारको मुख ताक्नु पर्छ भन्ने छैन तर यसलाई व्यवस्थित गर्ने निकाय भनेको सरकार नै हो ।
यो लेख २०७१ भाद्र ८ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।