Wednesday, September 17, 2014

आफ्नो इमेल जोगाउनुहोस ।

झण्डै 5 लाख गुगल प्रयोगकर्ताको युजरनेम र पासवर्ड ह्याक गरिएको भन्दै गत सप्ताह एक रसियन वेबसाइटमा प्रकाशित गरिएको छ । अन्तरराष्ट्रिय बिजनेश टाईम्स भन्ने एक वेबसाइटले जनाए अनुसार युजरनेम र पासर्वड ह्याक गरिएका प्रयोगकर्ताहरूमा अधिकांश रसियन, स्पानिस र अङ्ग्रेजी भाषा प्रयोग गर्ने प्रयोगकर्ताहरू छन् । जसमध्ये धेरै जस्तो नियमित रूपमा जिमेलको प्रयोग गरी रहने प्रयोगकर्ताहरू रहेका छन् । अन्तरराष्ट्रिय समाचारपत्र टाईम्स ईन्टरनेशनलको अनलाइन संस्करणले गुगलको हवाला दिँदै कसैले गुगलको प्रणालीमा प्रवेश गरेको प्रमाण नभएको बताइएको छ भने रसियन समाचार संस्था आरआईए नोभोस्तीले गुगलको मात्र हैन अन्य रसियन ईमल सेवा प्रदायकको युजरनेम र पासवर्ड पनि लाखौँको सङ्ख्यामा चोरी भएको समाचार दिएको छ ।

ह्याकिङ्ग गर्ने पक्षले ह्याकिङ्ग भएका इमेल ठेगाना र त्यसको पासवर्ड सार्वजनिक गर्दा पनि गुगलले आफ्नो सिस्टम कसैको नियन्त्रणमा गएको स्वीकार नगरी रहेको अवस्थामा प्रविधि विज्ञहरू जोकोहीलाई पनि एक पटक आफ्नो ईमलेको पासवर्ड परिवर्तन गर्न सुझाई रहेका छन् । वास्तवमा गुगल , याहु , माईक्रोसफ्ट जस्ता इमेल सेवा प्रदायकहरूले आफ्ना प्रयोगकर्ताको सूचना चोरी नहोस् भन्नाको खातिर पछिल्लो समयमा टु स्टेप अथेन्टीकेशन जस्ता अनेकौ दोहोरो सुरक्षा प्रणालीका उपयाहरु अवलम्बन गरी रहेका छन् । यस्तोमा प्रयोगकर्ताहरू अलिकति मात्र पनि सजग भए यस्ता प्रकारका घटनाले ठुलो नोक्सानी हुन पाउदैन ।

के हो त टु स्टेप अथेन्टीकेशन : तपाइको पासवर्ड कसैलाई थाहा भएकै अवस्थामा पनि यसको प्रयोगले कुनै दोस्रो व्यक्तिले तपाइको ईनब्कसमा पहुँच पाउन सक्दैन । गुगलको कुरा गर्दा यो सुरक्षा प्राणाली एक्टिभेट गर्न सबैभन्दा पहिले आफ्नो जिमेल अकाउन्ट लगइन गर्नुपर्छ। त्यसपछि सबभन्दा दायाँ किनारामा दिइएको आईकन (यो आईकन तपाईँको डिस्प्ले पिक्चर पनि हुन सक्दछ । ) एकाउन्ट अप्सन क्लिक गर्नुपर्छ । एकाउन्ट अप्सन छानेपछि सेक्युरिटी अप्सन छानेर टु स्टेप भेरिफिकेशन भन्ने लिङ्कको छेउमा रहेको सेटअप भन्ने अप्सन क्लिक गर्नु पर्छ अनि तपाईँलाई क्लिक क्लिक गर्दा गर्दै गुगलले तपाईँको मोबाइल नम्बर राख्ने स्थान सम्म पुर्याउछ । तपाईँले हाल सञ्चालनमा रहेको मोबाइलको नम्बर हाले पछि  तपाईँको मोबाइलमा एउट म्यासेज आउछ ।  त्यसमा रहेको नम्बर हाले पछि मात्र तपाईँको खाता सक्रिय हुन्छ । मोबाइलमा म्यासेज नआएको अवस्था फोन गरेर म्याज देऊ भन्ने अप्सन पनि छान्न सकिन्छ । त्यसपछि गुगलको स्वचालित प्रणालीबाट तपाइलाई नम्बर उपलब्ध गराउन फोनकल आउछ ।

हाल सबै जस्तो नाम चलेका इमेल सेवा प्रदायक तथा सेक्युरिटी कम्पनीहरूले यो सेवा सुचारु गरेका छन् । सेवा प्रदायकअनुसार मोबाइल नेटवर्क डाउन रहेको अवस्थामा खाता खोल्न सकिने वैकल्पिक उपाय रहेका हुन्छन् । देशबाहिर जानु पर्दा यस प्रकारको दोहोरो सुरक्षा प्रणालीबाट आफ्नो खाता सञ्चालन गर्न झन्झटिलो हुने भए ता पनि सुरक्षाको दृष्टिकोणले यो प्रणाली उपयुक्त हुन्छ ।

आफ्नो इमेल खाता जोगाउने अरू पनि उपायाहरु छन् । जस्तोकी तपाइको इमेल खाता खोल्दा उपलब्ध गराईएको तपाइको व्यक्तिगत सूचनाहरू सही भएमा कथकदाचित तपाइको खाता ह्याक भएमा पनि लगईन गर्न सक्नु हुन्छ ।  तर साधारणतया ह्याकरहरुले कसैको इमेल खाता आफ्नो नियन्त्रणमा लिईसके पछि त्यही जानकारी परिवर्तन गर्ने हुनाले तपाईँको बैकल्पीक इमेल (अल्टरनेट इमेल खाता) र मोबाइल नम्बर सही राख्नु उपयुक्त हुन्छ ।

बदलिँदो सुरक्षा अवस्थासँगै गुगल , याहु र माईक्रोसफ्ट जस्ता इमेल सेवा प्रदायकहरुले तपाईँलाई घरी घरी तपाइको मोबाइल नम्बर अपडेट गर्न उक्साई रहेका हुन्छन् । अहिलेको धेरै आईटी कम्पनीहरूले अंगालेको सुरक्षाप्रणालीको प्रकृति अनुसार कम्तीमा आफूले प्रयोग गरिरहेको वेबसाईटमा आफ्नो आफ्नो मोबाइल नम्बर भेरीफाई गराउनु  उपयुक्त हुन्छ  । यसका अलवा जो कोहीले सजिलै थापा पाउन नसक्ने पासवर्ड प्रयोग गर्नु पनि आफ्नो इमेल खाता जोगाउने सजिलो उपाय हो । पासवर्डको सम्बन्धमा हामी नेपालहरूको दैनिक प्रयोगको लागी दुईवटा लिपी भएकोले झनै सजिलो छ ।  कम्तीमा कुनै नेपाली शब्दलाई अङ्ग्रेजी फन्टमा टाइप गर्दामा पनि धेरै बलियो पासवर्ड तयार हुन्छ ।

यो लेख २०७१ भाद्र २८ गतेको पुर्वाञ्चलबाट निस्कने ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।