Monday, June 8, 2015

नेपालमा स्टार्टअप बिजनेश

पुरातन व्यबशायिक सोचलाई उपल्ब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी फरक तरिकाले कार्यन्वयन गर्ने व्यबशायिक सोचलाई चलनचल्तीको भाषामा "स्टार्टअप बिजनेश आईडिया" भनिन्छ । नेपालमा खासगरी सूचना प्रविधिको क्षेत्रमा नजिक रहेका  युवा अवस्थाका युवा युवातीहरुले आफ्नो करियरकाई एक चोटि स्टार्टअप बिजनेशको रूपमा परीक्षण गर्ने गरेका छन् । कति यसमा सफल भएका छन् भने कति असफल ।  हुनलाई कुनै पनि ब्यबशायिक सोचलाई सफल र असफल भनेर व्यवसाय सुरु गर्नु अगाडीनै ठोकुवा गर्न सकिदैन । प्रारम्भमा असफल देखएका स्टार्टअप बिजनेशहरु कालान्तरमा सफल भएका पनि देखीन्छन भने सफल र सरल देखिने स्टार्टअप बिजेनेश आईडियालाई लक्ष्यीतवर्गले रुचि नदेखाउदा असफल पनि भएका प्रशस्त उदारणहरु छन् ।  कतिले आफ्नो स्टार्टअप आईडियालाई ठुला ठुला कम्पनीलाई बेच्दै रातारात लखपती बनी रहेका छन् भने कोही आफ्नो व्यपार फैलाएर करोडपती बन्ने धाउन्नमा छन् । एक पछि अर्को असफलता भोग्नेहरु पनि प्रशस्त छन् । बिकासोउन्मुख एसियाली राष्ट्रका केही सफल स्टार्टअप बिजेनेशलाई अमेरिकी ठुला कम्पनीहरूले समेत खरिद गरी त्यसकेका छन्   । नेपालमा हाल सम्म कुनै पनि स्टार्टअप कम्पनीलाई विदेशीहरूले खरिद गरीसकेको सुन्नमा नआएको भए पनि स्थानीय बजारमै राम्रो गरी रहेका युवाहरू प्रशस्त छन् ।  बिज्ञहरुको बुझाइमा धेरै पैसा कमाउने स्टार्टअप कम्पनी मात्र सफल कम्पनी हैन । लक्ष्यीत वर्गलाई अकल्पनीय रूपमा सेवा पुर्याउने स्टार्टअप कम्पनीहरू पनि सफल कम्पनीहरू हुन । जस्तो कि :



केटिएम कुरियर : सूचना प्रविधिको प्रयोगले हुलाक सेवालाई प्रतिष्थापन गरी रहेको अवस्थामा कुरियरको बिजनेश गर्छु भन्नेलाई निकटवर्तिहरुले हौसला चाही पक्कै पनि दिएनन होला ।  किन पनि भने पुरातन कुरियर व्यवसायको कुरा गर्ने बित्तिकै एउटा सहर अझ भनु काठमाण्डौ बाट विभिन्न सहरहरूमा चिट्ठीपत्र पुर्याउने ब्यपार भन्ने बुझीन्छ । तर तपाईँले केटिएमकुरियर्स डट कम भन्ने साइट खोलेर हेर्नु भो भने थाहा पाउनु हुने प्रविधिको जतिनै विकास भएको भए पनि हुलाकी व्यापारको आवश्यकता घटेको रहेनछ । उदारणको लागी तपाईँको अफिस काठमाण्डौको एउटा कुनामा छ अनि केही चिट्टीपत्र अर्को कुनामा पठाउनु पर्ने भो । सधैँ यस्तो काम पर्दो हो त एउटा कर्मचारी यसैको लागि नियुक्ति गर्नु हुदो हो तर भैपरी आउने काममा के गर्ने ? सहरको व्यस्त दैनिकि बिच बहिनीको बिहेकोलागी निमन्त्रणा पत्र आफन्त नातागोताको पठाउनु पर्ने काम आई लाग्यो अब के गर्ने ? तत्कालको लागी तपाईँ काठमाण्डौमा हुनुहुन्छ र यस्तै कामको लागि फुर्सद छैन भने यो काम केटिएमकुरियर्स जिम्मा दिन सक्नु हुन्छ । यस कम्पनीले अफिस डकुमेन्ट, सामानको बिल , खुद्रा किनमेलको सामान, अत्यावश्यक औषधी, लुगाफाटा आफ्ना कर्मचाहरुको प्रयोग गरी साइकल तथा मोटरसाईलमा सम्बन्धितको ठेगानामा पठाई दिन्छ ।

एनलोकेट : मानी लिनुस तपाईँ आफ्नै गाडी लिएर लङ्गड्राईभमा कतै जाँदै हुनुन्छ ।  बिच बाटोमा  गाडी बिग्रियो । अब के गर्ने ? अझ तपाईँको गोजीमा पैसाको साटो बैकको एटिएम कार्ड मात्र रहेछ भने के गर्ने ? तत्कालको लागी तपाईँले मोबाइलमा एनलोकेट भन्ने एप्लीकेशन ईन्सटल गर्नु भएको छ भने केही राहत हुन सक्छ । यसले तपाईँ रहेको स्थानबाट सबभन्दा नजिको एटिएम काउन्टर र गाडी बनाउने वर्कसप देखाई देखाई दिन्छ । त्यसपछि तपाईँ योजना बनाउनु सक्नु हुन्छ कुन काम कसरी र पहिले गर्ने भनेर । एन्ड्रोईड र आईओएस अपरेटिङ्ग सिस्टम जडित जुन सुकै मोबाइलमा ईन्सटल गर्न मिल्ने यो एप्लीकेशनमा अस्पताल, डाक्टरको क्लिनिक, बैक, एटिम, सिनेमा हल, बिध्यालय, पेट्रोलपम्प, सवारी साधन बनाउनु ठाउ, रेष्ट्रुरेण्टको जिपिएस लोकेशन सहितको ठेगाना पाउनु हुन्छ । जसले गर्दा तपाईँ रहेको स्थानबाट पनि सबभन्दा नजिकको गन्तब्य कति किलोमिटर  टाढा र कुन दिशामा पर्छ भन्ने थाहा लाग्छ । यो एप्लीकेशनमा उपलब्ध डाटाको आधारमा यसको प्रभावकारिता पुष्टि हुने हो । काठमाण्डौको दाँजोमा मोफसलको तथ्याङ्ग उ बिघ्न नराखी सकिएको भए ता पनि प्रयोकर्ताले आफै आफ्नो ठाँउको महत्वपुर्ण स्थानको बारेमा जानकारी राख्न सक्छन् जसले गर्दा अपठ्यारोमा परेको जो सुकैलाई कालान्तरा उपयोगी हुन सक्छ । 

यल्लोनेपाल : यल्लो नेपाल पनि एनलोकेट जस्तै एक मोबाइल एप्लीकेशन हो । एनलोकेटको सबै फिचर हटाएर रेष्टुरेण्ट मात्र खोज्ने सुविधा बनाईयो भने यल्लोनेपाल तयार हुन्छ । तर यल्लोनेपालले एनलोकेटले गर्ने जस्तो काम मात्र गर्दैन । यसले नेपालकै तत्कालको लागी काठमाण्डौमा छरिएर रहेका रेस्टुरेन्टको मेनु, त्यहाँ उपलब्ध सुविधा, खुल्ने समयलगायतका विवरण उपलब्ध गराउने गर्दछ ।  सबभन्दा मुख्यकुरा त एनलोकेटको स्टार्टअप बिजनेस कन्सेप्ट गुगल बिजनेस ग्रुप स्टोरिज च्यालेन्जमा विश्वभरीका स्टार्टअप हरुमध्येबाट प्रमुख तिनमा सर्ट लिष्टिङ्गमा भई  सकेको छ ।

पिकोभिको : पारिवारिक तथा साथीभाईसँगको जमघट वा यस्तै कुनै अवसरमा खिचिएका फोटोहरुलाई वेबसाईटको माध्ययमबाट भिडियो बनाउने वेबसाईट नेपालमा लामो सय देखी चलीरहेका स्टार्टअप वेबसाईटहरु मध्ये एक हो । यसको विकास जानकी टेक्नोलोजी नाम गरेको काठमाण्डौको एक स्टार्टअप कम्पनीले गरेको हो । सोसियल साइटमा राखिएको धेरै फोटा हेर्न निकै झन्झट र लामो समय लाग्ने हुदाँ एक क्लिकमै खिचिएको सम्पूर्ण फोटोहरू भिडियो मार्फत हेर्न र देखाउन सकियोस् भन्ने उदेश्यले यो एप्सको विकास गरिएको सफ्टवेयर निर्माण कम्पनी बताएको छ र यस कन्सेप्टलाई धेरैले रुचआएका पनि छन् । कम्पनीले जनाए अनुसार यस वेबसाईटको मोबाइल भर्सन चाडै नै गुगल प्ले स्टोरमा उपलब्ध हुदैछन । पिकोभिको मोबाईलमा उपलब्धता  भए सँगै मोबाइल बाट खिचिएको फोटोलाई मोबाईलमै सजिलो सँग भिडियो बनाउन सकिन्छ ।

यो लेख २०७२ असार २४ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।