Sunday, September 11, 2011

ईन्टरनेटको बजारमा ब्राउजर #internet #broswer

यदि तपाईं इन्टरनेट ब्राउज गर्नको लागि माइक्रोसफ्ट निर्मित इन्टरनेट एक्सप्लोरर प्रयोग गर्नुहुन्छ भने तपाईं सचेत इन्टरनेट प्रयोगकर्ताको हिसाबले लगभग तीन वर्ष पछाडि हुनुहुन्छ तर यसो भन्दैमा अप्ठ्यारो मानिहाल्नु भने पर्दैन किनभने तपाईं इन्टरनेट ब्राउज गर्नको लागि इन्टरनेट एक्सप्लोरर प्रयोग गर्ने बहुसङ्ख्यक प्रयोकर्ताहरुमध्ये एकमा पर्नुहुन्छ, जो विश्वभरिमा लगभग ४२ प्रतिशतको हाराहारीमा छन् । दुःखको कुरा, यो संख्या आजभन्दा ठीक ३ वर्षअघिको तुलनामा लगभग २६ प्रतिशतले कम्ती हो ।

वेबसाइट प्रयोकर्ताहरुको तथ्याङ्क संग्रह गर्ने साइट स्टाट काउन्टरका अनुसार सन् २००८ को मध्यसम्ममा पनि संसारभरिका लगभग ६८ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरु इन्टरनेट एक्सप्लोरर प्रयोग गर्दथे । अहिले यो संख्या निरन्तर ओरालो लागेर ४० को हाराहारीमा आइपुगेको छ । यसबीचमा अन्य ब्राउजरहरु इन्टरनेट मार्केटमा एक्कासी चर्चामा आए र धेरैले रुचाइदिए पनि । उल्लेखित ३ वर्षको अन्तरालमा मोजिल्ला फायरफक्सले लगभग ३–४ प्रतिशत थप प्रयोगकर्ता पाएको छ भने गुगल क्रोमले त आफ्नो जादू नै देखाएको मान्नु पर्दछ ।
२००८ को मध्यतिर ५ प्रतिशतभन्दा कम्ती प्रयोगकर्ता रहेको गुगल क्रोममा अहिले संसारभरका इन्टरनेट प्रयोगकर्ताहरुमध्ये लगभग २५ प्रतिशत प्रयोगकर्ताले यसको प्रयोग गर्दछन् । एप्पलका उत्पादनको बजार वृद्धि भएसँगै यसको डिफल्ट ब्राउजर सफारीको बजार पनि बढ्दो छ । ३ वर्षको अन्तरालमा यसको बजार लगभग ३ प्रतिशतले बढेको छ । यसबीच मोबाइल भर्सन ब्राउजर निकालेको ओपेराले डेस्कटप भर्सनमा खासै थप प्रयोगकर्ता भेट्टाउन नसके पनि मोबाइलमा इन्टरनेट ब्राउज गर्न धेरैले यसलाई रुचाइरहेका छन् ।

केही वर्ष अगाडिसम्म नोकियाले सिम्बायोन ओएस प्रयोग गर्दाताका मोबाइलबाट इन्टरनेट ब्राउज गर्नेहरु लगभग २७ प्रतिशतले ओपेरा मिनी चलाउँथे । त्यतिखेर मोबाइलको लागि एन्ड्रोइड ओएसको चर्चामात्र सुनिन्थ्यो । अहिले मोबाइलमा ओपेरा चलाउनेहरु ६ प्रतिशतले घटेका छन् भने एन्ड्रोइड फोनमा इन्टरनेट चलाउनेहरु १७ प्रतिशतले वृद्धि भएका छन् ।

जानकारहरुका अनुसार इन्टरनेटको संसारमा प्रयोगकर्ताहरु ब्राउजर पछाडि भांैतारिनुको कारण सबै ब्राउजरले वेब साइट निर्माणको क्षेत्रमा भएका उपलब्धि र प्रयोगहरु आत्मसात् गर्न नसक्नु हो । वेब साइट निर्माणका लागि प्रयोग गरिने क्लाइन्ट साइट स्क्रीप्टहरुमा भएका विकासहरुलाई आत्मसात् गरी अपडेट नगरेकै कारणले इन्टरनेट एक्सप्लोररको प्रयोग घटेको हो । जाभा स्क्रीप्टका फ्रेमवर्कहरु, सीएसएस र एचटीएमएलका पछिल्ला सँस्करणहरु प्रयोगको हिसाबले सजिला र छरिता देखिएकाले पनि वेब डिजाइनरहरु त्यसैसँग कम्प्याटिबल हुने ब्राउजर (वेब साइटमै) सिफारिस गर्ने गर्दछन् ।

एक अध्ययनअनुसार अधिकतम् वेब डिजाइनरहरुले फायरफक्स रुचाउने हुदाँ त्यसैमा परीक्षण गरेर साइट बनाउने गर्छन् र तिनीहरुको लागि अन्य ब्राउजर विशेष गरी इन्टरनेट एक्सप्लोरर कम्प्याटिबल हुने गरी कोड गर्नु भनेको अतिरिक्त भार हो, जो सबैले बोक्न चाहँदैन र मोजिल्ला फायरफक्समा हेर्नु उपयुक्त हुने सूचना वेब साइटमै राखिदिन्छन् ।

त्यसैले अहिले ब्राउजर र वेब डिजाइनको क्षेत्रमा देखिएका वेब टुल्सहरुको विकास र प्रयोगको अधिकतम् मज्जा लिने हो भने इन्टरनेट एक्सप्लोरर तपाईंको लागि उपयुक्त ब्राउजर हुँदै हैन, क्रोम वा फायरफक्स इन्सटल गर्नु उपयुक्त हुन्छ । यदि तपाईंले ओपेरा इन्सटल गरिहाल्नुभयो भने पनि म फेरि पनि तपाईंलाई फायरफक्स मोजिल्ला इन्सटल गर्न सुझाव दिन्छु ।
यो लेख मिती २०६८ भाद्र २५ गतेको ब्लाष्ट दैनिकमा प्रसाशित भएको हो । पत्रिका मा छापीएको आकारमा हेर्न यहाँ क्लीक गर्नुहोस ।