Sunday, September 18, 2011

माईक्रोसफ्टको ओएसका विकल्प #windows #alternatives

तपाईं व्यक्तिगत वा कार्यालय प्रयोजनको लागि कम्प्युटर प्रयोग गर्नुहुन्छ भने अवश्य पनि विन्डोज अपरेटिङ सिस्टम (ओएस) सँग परिचित हुनुहुन्छ होला । तपाईंले नब्बेको दशकदेखि कम्प्युटर चलाउन थाल्नुभएको भए विन्डोज ३.१ देखि विन्डोज २००८ नाम गरेका विन्डोजका विभिन्न भर्सन चलाइसक्नुभएको हुन सक्छ तर जानकारीको अभावमा विन्डोजका सम्पूर्ण स“स्करण प्रयोग गरिसके पनि तपाईंले लिनक्स ओएसको प्रयोग गर्नुभएको नहुन सक्छ । लिनक्स पनि विन्डोजजस्तै अपरेटिङ सिस्टम हो, जसले प्रयोगकर्ताले दिएको कमाण्डलाई कम्प्युटरले बुझ्ने भाषामा रुपान्तरण गर्ने काम गर्दछ । अझ सजिलो गरी भन्दा ओएस भनेको कम्प्युटर र युजरबीचको मध्यस्थकर्ता हो । यदि तपाईं लिनक्स वा विन्डोज ओएसमध्ये कुनै एक ओएस चलाउन पोख्त हुनुहुन्छ भने अर्को ओएस चलाउन खासै अप्ठ्यारो पर्दैन । दुई फरक ओएसमा कमान्डको नाम वा मेनु फरक भए पनि त्यसको आउटपुट लगभग समान हुन्छ ।

एक अध्ययनअनुसार नेपालमा ८५ प्रतिशतभन्दा प्रयोगकर्ताले माइक्रोसफ्टटको पाइरेटेड अपरेटिङ सिस्टम प्रयोग गर्ने गर्दछन्, जुन अन्तर्राष्ट्रिय कानुनअनुसार पूर्णतः गैरकानुनी हो । कुनै दिन माइक्रोसफ्टटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी प्रक्रियामा गएर राज्यलाई पाइरेटेड ओएसमा प्रतिबन्ध लगाउनुपर्ने स्थिति ल्याइदियो भने नेपाली प्रयोगकर्ताहरु निकै अप्ठ्यारोमा पर्न सक्दछन् किनभने अहिले बजारमा सफ्टवेयर इन्स्टल नगरेको कम्प्युटरको जति मूल्य पर्छ, आवश्यक ओरिजिनल सफ्टवेयर खरिद गर्नु पर्यो भने सफ्टवेयरकै लागि त्योभन्दा बढी मूल्य तिर्नु पर्दछ ।
यस्तो अवस्थामा लिनक्स अपरेटिङ सिस्टमका विभिन्न डिस्ट्रोहरु (लिनक्स ओएसका विभिन्न सँस्करणहरु) तपाईंको लागि उपयोगी हुन सक्छन् । आउनुस्, माइक्रोसफ्टटको ओएस किनेर प्रयोग गर्नुपर्ने अवस्था आउनुअघि नै यसको विकल्पमा रहेको लिनक्स अपरेटिङ सिस्टमका बारेमा केही जानकारी लिऊँ ।

माइक्रोसफ्टटको विन्डोज अपरेटिङ सिस्टमको सबैभन्दा नराम्रो पक्ष भनेको कुनै एक भर्सनको ओएस एकपटक खरिद गरिसकेपछि पनि त्यसैलाई परिमार्जन र अपडेट गरी तयार गरेको अर्को सँस्करण पूरा मूल्य तिरेर खरिद गर्नुपर्ने हुन्छ । विन्डोज ओएस प्रयोग गर्दा सफ्टवेयर तथा हार्डवेयर उत्पादकको मोनोपोलीको कारणले घरी हार्डवेयर, घरी सफ्टवेयर स्तरोन्नतिको बहानामा सिस्टम अपग्रेड गर्दा दुवै उत्पादन खरिद गर्नुपर्ने हुन्छ तर लिनक्स प्रयोग गर्ने हो भने यस किसिमको समस्या कहिल्यै पनि आउँदैन । लिनक्स निःशुल्क प्राप्त गर्न सकिने अपरेटिङ सिस्टम हो ।

अपरेटिङ सिस्टम आफैले कम्प्युटरबाट प्रयोगकर्ताले लिनसक्ने प्रत्यक्ष फाइदा केही पनि दिँदैन । त्यसको लागि प्रयोगकर्ताको आवश्यकताअनुसार विभिन्न प्रोग्राम इन्स्टल गर्नु पर्दछ । विन्डोज ओएस इन्स्टल गरेको अवस्था कम्प्युटरमा दैनिक कामकाज गर्नको लागि माइक्रोसफ्टट अफिस प्याकेज पहिलो आवश्यकता हो, जसको अन्तर्राष्ट्रिय बजार मूल्य १२ हजारदेखि ३० हजारसम्म पर्छ । नेपाली बजारमा त्यही पनि सहज उपलब्ध हुँदैन अनि पाइरेटेड कपी खरिद गर्नुपर्छ । तर, तपाईं लिनक्स ओएस चलाउनुहुन्छ भने लिबरे अफिस वा ओपन अफिसजस्ता माइक्रोसफ्टट अफिससँग ठ्याक्कै मिल्ने प्याकेजहरु उपलब्ध छन्, जुन वैधानिकरुपमा निःशुल्क डाउनलोड गर्न पाइन्छ ।

एडोब फोटोसप निर्विकल्प नम्बर एक फोटो एडिटिङ टुल्स हो तर यसलाई सिधै लिनक्स अपरेटिङ सिस्टममा चलाउन सकिँदैन । लिनक्समा वाइनजस्ता मध्यस्थ प्रोग्राम इन्स्टल गरेर फोटोसप राख्न त सकिन्छ तर विन्डोजमा चलाएको जस्तो मज्जा आउँदैन । फोटोसपका नयाँ–नयाँ सँस्करण पनि इन्स्टल नहुन सक्छन् तर फोटोसपको बजार मूल्य २० हजारभन्दा बढी पर्छ । यस्तोमा तपाईं लिनक्समा फोटोसपको तिर्सना जिम्प प्रोग्रामले मेट्न सक्नुहुन्छ, जुन धेरै हदसम्म फोटोसपजस्तै छ र यी निःशुल्क डाउनलोड गर्न पाइन्छ ।

भाइरस पनि कम्प्युटर प्रोग्राम नै हो । विन्डोज अपरेटिङ सिस्टम धेरै प्रयोगमा रहेको हुनाले भाइरस प्रोग्रामहरुले पनि त्यसैलाई लक्ष्यित गरी भाइरस प्रोग्रामिङ गरेका हुन्छन् । ती भाइरस प्रोग्रामहरु कुनै अवस्थामा नियन्त्रणहीन भइदिन्छन् । हुनलाई विन्डोजमा पनि निःशुल्क एन्टीभाइरस प्रोग्राम पाइन्छ तर निःशुल्क पाइने एन्टीभाइरसले कतिपय अवस्थामा तपाईंको कम्प्युटरमा भाइरस छ तर त्यसलाई डिलिट गर्ने यो सफ्टवेयरलाई अपग्रेड (सशुल्क) गर्नुस् भन्ने म्यासेज दिएर दिक्क बनाउँछन् । विन्डोज अपरेटिङमा धेरैजसो एन्टीभाइरस प्रोग्रामहरु खरिद गर्नु पर्दछ, जसको बजार मूल्य वार्षक १ हजारदेखि २ हजारसम्म पर्दछ । विन्डोजको तुलनामा लिनक्समा भाइरसको प्रभाव पर्दै पर्दैन भने पनि हुन्छ । त्यसैले धेरै सर्भरहरुले डाटा सुरक्षित गर्नको लागि लिनक्स ओएस इन्स्टल गरेका हुन्छन् । लिनक्समा केही प्रोग्रामिङ बग (कतिपय अवस्थामा भाइरस) देखा परे इन्टरनेटको सहायताले ओएस नै निःशुल्क अपडेट गर्न सकिन्छ ।

क्लोज्ड सोर्स हुनु पनि माइक्रोसफ्टटका उत्पादनहरुको अर्को नराम्रो पक्ष हो । यसमा कुनै प्रोग्रामलाई अलिकति मोडिफाई गरेर प्रयोग गर्नु सम्भव छैन । केही मोडिफाई गरेर कुनै सफ्टवेयर प्रयोग गर्नु परेको अवस्थामा पूरै प्रोग्राम नै नयाँ बनाउनुपर्छ तर लिनक्स ओएस ओपन सोर्स भएको कारणले यसमा कुनै पनि प्रोग्रामहरु कसरी निर्माण भएका हुन् र के कसरी काम गर्छन्, थाहा पाउन सकिन्छ । आवश्यकताअनुसार सोर्स कोड मोडिफाई गरेर प्रोग्रामलाई आफ्नो आवश्यकताअनुसार ढाल्न सकिन्छ । कुनै प्रोग्रामहरु निर्माण गर्दा हुन सक्ने गल्ती ओपन सोर्स कम्युनिटीका सदस्यहरुबाट सँच्याउन सकिन्छ ।

र अन्त्यमा, जानकारहरुका अनुसार लिनक्सको विकास भविष्यमा कुनै पनि कारणले बन्द हुने सम्भावना छैन । लिनक्सको विकास र विस्तार सामूहिकरुपमा भएकोले माइक्रोसफ्टटको जस्तो यसको मोनोपोली हुने सम्भावना छैन । लिनक्समा तपाईंले आफै प्रोग्रामिङ गर्न नसके पनि तपाईंको आधारभूत आवश्यकता (सामान्य) परिपूर्ति गर्नको लागि कहिल्यै पनि कुनै शुल्क तिर्नुपर्ने छैन ।
 यो लेख मिती २०६८ साल असोज १ गते आईतबार को पुर्वाञ्चल बाट प्रसाशित हुने स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको हो । पत्रिका छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।