Monday, October 3, 2011

तपाईको पासर्वड : तपाईको सुरक्षा

अहिले राष्ट्र बैक ले बिदेश पैसा पठाउन कडाई गरेको र सम्भवत जन चेतनाको कारणले हुन सक्छ तर केही वर्ष अगाडी सम्म मान्छेहरु गोरु बेचेको पनि साइनो नभएको ब्यक्तिको अपुताली दावी गर्नको लागी प्रोसेसिङ्ग फी वापतको पैसा भनेर बिदेश पैसा पठाएर ठगिएका हुन्थे ।  अझै पनि आफूले कहिल्यै खरिद नगरेको चिठ्ठाको पुरस्कार वापतको पैसा लिने बहानामा होस् वा तपाईँको याहूको इमेल ठेगानामा माइक्रोसफ्टले आफ्ना इमेल प्रयोगकर्ताहरुको इमेल ठेगानालाई र्‍याण्डमाइज गरी चिठ्ठा गर्दा लाखौँ रकमको पुरस्कार परेको ईमेल हामीलाई दिनहुँ प्राप्त भइरहन्छ। अझ तपाईँको सामान्य ज्ञानलाई चुनौती गर्ने गरी प्रश्न सोधेर पठाएको इमेल रिप्लाई गर्ने बित्तिकै तपाईँले सबै पुस्कार जित्‍नुभएकोले कल्पनै नगरेको पुरस्कार राशी जित्‍नुभएको ईमेल आउने गर्छ ।

ईन्टरनेटमा यस किसिमको कार्य केही ब्यक्तीको लागी मनोरञ्जन र पैसा कमाउने बाटो हुन सक्छ तर धेरैको लागी टाउको दुखाईको बिषय हो । याहुमेल , हटमेल, जिमेल जस्ता निशुल्क ईमेल सेवा प्रदायकहरुले प्रयोगकर्ताको यस प्रकारको समस्यालाई आफ्नो तरिकाले सम्बोधन गर्ने प्रयास पनि गरेका छन । तर उनिहरुको निक्योल के छ भने स्वयँ प्रयोगकर्ताहरु सचेत नहुञ्जेल यस किसिमको समस्या वाट मुक्त हुन सकिदैन । किन भने मेल स्पाम गर्नेहरु प्रयोगकर्तालाई वेबकुफ वनाउन अनेकौ विकल्पहरु सुझाइरहेका हुन्छन् ।  उदाहरणको लागि इमेल सेवा प्रदायकहरुले प्रयोगकर्ताहरुको सुझाव अनुसार कुनै पनि इमेलको सब्जेक्ट लाइन वा वडिलाइनमा भायग्रा भन्ने शब्द छ भने त्यसलाई शंकास्पद सूचिमा राख्‍ने वा सीधै स्पाम घोषणा गर्ने नीति लिए। तर स्पामरहरुले त्यति सजिलै कहाँ छोड्थे र ! उनीहरुले पनि भायग्रा वा त्यससम्बन्धी विज्ञापन गर्नको लागि भायग्रा भन्ने शब्दलाई मात्र फोटोको रुपमा तयार गरे, जसलाई कम्प्युटर प्रोग्रामले पत्तै पाउन सकेन । र अझै पनि यस किसिमको ईमेल तपाईको ईन्बक्समा आई रहेको हुन्छ ।

ईमेल सेवा प्रदायकहरु प्रयोगकर्ताको गोपनियताको सुरक्षाको र विश्वास को लागी समय र पैसाको राम्रो लगानी गरी रहेका हुन्छन तर त्यो कदम कहिल्यै नि पुर्ण हुन सक्दैन ।  बरु हामीले हाम्रो अनलाईन गतिबिधीलाई ब्यबश्थीत र सुरक्षीत गर्यौ भने केही हुन सक्छ जसवाट माथि उल्लेख गरिएका र भविष्यमा देखापर्ने विभिन्न साइबर क्राइमबाट सुरक्षित रहन सहयोग पुग्छ। जस्तै
  • तपाईँलाई अरु कसैले आफ्नो पासवर्डको अनधिकृत प्रयोग गरेको शंका लाग्ने बित्तिकै पासवर्ड परिवर्तन गर्न सक्ने अवस्थामा रहनु होस्। याहु, हटमेल, जीमेलको पासवर्ड परिवर्तन गर्ने प्रक्रिया अलग-अलग हुन सक्छ। गुगलमा सर्च गरेर वा जान्ने मानिसलाई सोधेर कम्तिमा फ्नो पासवर्ड आफैँ परिवर्तन गर्न सक्ने अवस्थामा रहनुहोस्।
  • तपाईको पासवर्ड अंक र अक्षर दुबै मिलेर बनेको भए राम्रो हुन्छ। डिक्सनरीको कुनै शब्दलाई पासवर्डको रुपमा प्रयोग नगर्नु राम्रो। त्यसो भए कुनै पनि ह्याकिङ्ग सफ्टवेयरबाट पासवर्ड क्र्याक हुन सार्‍हो पर्छ। अझ तपाईँलाई नेपाली टाइप गर्न आउँछ भने सम्झिन सजिलो हुने शब्दलाई पासवर्डको रुपमा प्रयोग गरे राम्रो हुन्छ। (भन्नाले यदि तपाईँ बकमानलाई पासवर्ड बनाउन चाहनु हुन्छ भने asdfg लेख्‍नुहोस्)
  • निश्चित समयावधिमा आफ्नो इमेल पासवर्ड परिवर्तन गरिरहनुहोस्।
  • यदि तपाईँको कम्प्युटर अरुले पनि चलाउँछन् भने लगइन पेजमा पासवर्ड कहिल्यै सेभ नगर्नुहोस्। प्रायजसो इमेल लगइन गर्दा चेक बक्समा पासवर्ड सेभ गर्ने अप्सन हुन्छ। हामीले जानेर वा अन्जानमा त्यसलाई सेभ गरिरहेका हुनसक्छौँ।
  • ब्यक्ति आफ्नो हुनसक्छ तर उसको बानी ब्यवहार आफ्नो नहुन सक्छ। त्यसैले भरसक आफ्नो पासवर्ड आफैसँग राख्‍नुहोस्।
  • पहिलो प्रेमी/प्रेमिका पछि गएर पासवर्ड हुन्छन् भन्ने चलनचल्तीको जोक जस्तो तपाईँको कमजोरी वा तपाईँको स्वाभावको आधारमा अनुमान गर्न सकिने वा छोराछोरीको नाम वा जन्ममितिलाई पासवर्ड नबनाउनु भए राम्रो हुन्छ। यसो गर्नु हुँदा तपाईँका आफ्ना भनिएका कुनै नजिकका ब्यक्तिबाट अप्ठ्यारोमा पर्न सक्नु हुन्छ।
  • पासवर्ड बिर्सिएमा प्रयोग हुने प्रश्नलाई पनि सामान्य नबनाउनुस्। नत्र कुनै पनि जानकार व्यक्तिले तपाईँको इमेल ह्याक गरी हेर्न सक्छन्। उदाहरणका लागि तपाईँको स्कूलको नाम के हो ? तपाईँको जन्म शहर कुन हो ? जस्ता प्रश्नका उत्तर सजिलै अनुमान गर्न सकिने हुन्छन्। यस्तो जवाफ दिएर तपाईँको ईमेलमा कसैले अनधिकृत प्रवेश गर्न सक्छन्। तपाईँको फेभरेट मुभी कुन हो ? भन्ने प्रश्नको जवाफ पनि त्यसरी नै अनुमान गर्न सकिने खालको नराख्‍नु राम्रो हुन्छ। बरु त्यस्ता प्रश्न सकभर आफैले राखे राम्रो हुन्छ र त्यसको जवाफ पनि अरुले अनुमान गर्न नसक्ने राख्‍नुस्। उदाहरणका लागि नेपालको राजधानी कुन हो भनेर प्रश्न राख्‍ने र त्यसको जवाफ काठमाडौँ नराख्‍ने बरु टोकियो भनेर राख्‍ने। यसो भएमा कसैले पनि अनुमान गर्न सक्दैनन्। बरु त्यो जवाफ तपाईँलाई याद हुनुपर्छ नि। नत्र कहिलेकाहीँ पासवर्ड बिर्सँदा तपाईँ आफैलाई रिकभर गर्न गार्‍हो हुनसक्छ।
यो लेख स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशन गर्नको लागी माई सन्सारमा प्रकासित मेरै यस लेखलाई (http://www.mysansar.com/archives/2009/03/id/4702) पुनर्लेखन गरी तयार गरीएको हो । पत्रिकामा छापीएको आकारमा हेर्न लाई यहाँ क्लीक गर्नु होला ।