Sunday, October 9, 2011

टोरेन्ट #torrent

बिटटोरेन्ट भन्नाले कुनै विशेष सफ्टवेयरको माध्यमबाट इन्टरनेटको एउटै नेटवर्क मा आबद्ध भएका प्रयोगकर्ताहरुबीच फाइल सेयर गर्ने प्रक्रिया हो । यस प्रक्रियामा मूल फाइल राखिएको सर्भरका अतिरिक्त सो फाइल डाउनलोड गरिसकेका प्रयोगर्ताहरुको कम्प्युटरबाट पनि टुक्रा–टुक्रा गरेर फाइल डाउनलोड हुने गर्दछ । वेब तथा फाइल ट्रान्सफर प्रोटोकलबाट फाइल ट्रान्सफर गर्दा मुख्य सर्भरको ब्याण्डविथ फाइल डाउनलोड गर्ने प्रयोगकर्ताहरुले बाँडेर लिने गर्दछन् भने ती फाइल डाउनलोड गरिरहेका सक्रिय प्रयोगकर्तासँग भएको ब्याण्डविथ खेर गइरहेको हुन्छ तर बिटटोरेन्टमा पियर टु पियर फाइल सेयरिङ प्रोटोकल लागू हुने हुनाले फाइल डाउनलोड गरिसकेका प्रयोगकर्ताहरुको कम्प्युटरबाट पनि फाइलका केही अंशहरु डाउनलोड हुने गर्दछन् ।

टोरेन्ट फाइल डाउनलोड प्रक्रियामा तपाईंले मुख्यतः सिडर, लिचर र ट्रयाकर भन्ने शब्दहरुको बारेमा धेरै नै सुन्नु हुनेछ । सिडर भन्नाले टोरेन्ट नेटवर्कबाट कुनै फाइल पूरै डानउलोड गरिसकेको तर त्यस नेटवर्कसँग सम्पर्क विस्थापित नगरिसकेको प्रयोगकर्ता भन्ने बुझाउँछ । लिचर भनेको चाहिँ पूरै फाइल डाउनलोड गरी नसकेको र टोरेन्ट फाइल सर्भर तथा सिडरहरुबाट पनि फाइल डाउनलोड गरिरहेको प्रयोगकर्ता भन्ने बुझाउँछ । ट्रायकर भनेको चाहिँ सिडर र लिचरको जानकारी संकलन गर्ने सर्भर बुझाउँछ । यसले कुनचाहिँ लिचरको लागि कुन चाहिँ सिडरबाट फाइल डाउनलोड गर्न उत्तम हुन्छ भने निर्णय गर्ने गर्दछ । त्यस्तै पियर भन्नाले कुनै निश्चित टोरेन्ट फाइल अपलोड तथा डाउनलोड प्रक्रियामा सहभागी कम्प्युटरहरुलाई जनाउँछ भने सेयर रेसियो भन्नाले प्रयोगकर्ताहरुले फाइल डाउनलोड र अपलोड गरेको अनुपातलाई बुझाउने गर्दछ । धनात्मक अनुपात भएको टोरेन्ट फाइल डाउनलोड गर्नु उत्तम हुन्छ ।

टोरेन्टबाट फाइलडाउनलोड गर्दा यसको क्लाइन्ट सफ्टवेयर नयाँ र अपडेटेड हुनु राम्रो हुन्छ । त्यस्तै आफुले डाउनलोड गर्न खोजेको फाइलको सिडर धेरै हुँदा तुलनात्मकरुपमा फाइल डाउनलोड स्पीड धेरै हुने हुन्छ । फायरवाल प्रोग्राम इन्स्टल गरिएको छ भने यसले टोरेटन्ट कनेक्सन ब्लक गर्न सक्दछ । तसर्थ, फायरवाल सेटिङ्ग्स मिलाउनु पर्दछ तर फायरवाल प्रोग्रामलाई पूरै निष्क्रिय चाहिँ पारिहाल्नु हुँदैन किनभने यसले तपाईंको कम्प्युटरमा भाइरसजन्य खराबी उत्पन्न हुने हुन्छ । टोरेन्ट क्लाइन्ट सफ्टवेयरमा डाउनलोड र अपलोड स्पीड बराबर दिएको हुन्छ । यस अवस्थामा अपलोड स्पीड प्रतिशत एक चौथाइले कम गर्नु उत्तम हुन्छ ।

सन् २०११ को सुरुवातमा गरिएको एक अध्ययनअनुसार विश्वभरिमा फेसबुक, युट्युबका सक्रिय प्रयोगकर्ता (नियमितरुपमा चलाउने) भन्दा टोरेन्ट प्रयोगकर्ताहरु धेरै पाइएको छ । साधारणतया टोरेन्टबाट ठूला–ठूला फाइल, मुभी, गीत सफ्टवेयर आदि डाउनलोड गर्ने गरिन्छ । पाइरेटेड सफ्टवेयर तथा मुभी डाउनलोड गर्नको लागि धेरैले टोरेन्टको प्रयोग गर्ने गरेको भए पनि अन्य प्रोटोकलको तुलनामा यस प्रोटोकलबाट फाइल डाउनलोड गर्दा प्रयोगकर्ताको आईईपी एड्रेसलगायत् प्रयोगकर्ताको महत्वपूर्ण जानकारीहरुको सर्भरले संकलन गर्ने गर्दछ । यस प्रोटोकलको प्रयोग गरेर प्रयोगकर्ताहरुले व्यक्तिगत तर सर्वसाधारण निःशुल्क प्रदान नगरिने कपी राइट प्रोटेक्टेड फाइल पनि डानलोड गर्ने गर्नाले धेरैले टोरेन्टको कुरा गर्दा अवैधानिक डाउनलोड भन्ने सोंच्दछन् तर सिद्धान्ततः त्यसो हैन । ट्वीटर तथा फेसबुक सर्भरले आफ्नो डाटा भण्डारण गरेर विभिन्न ठाउँमा राखेका सर्भरहरु डाटा डाउनलोड गर्ने प्रयोजनको लागि यसै प्रोटोकलको प्रयोग गर्ने गर्दछन् ।

केही टोरेन्ट क्लाईन्ट सफ्टवेयर

म्यु टोरेन्ट
जिपटोरेन्ट
ए बि सी

टोरेन्ट फाईल डाउनलोड गर्ने साईटहरु

पाईरेट बे
मिनीनोभा
भेरटोर

यो लेख मिती २०६८ आश्विन २२ गते आईतबारका स्थानीय ब्लाष्ट दैनिकमा प्रकाशित भएको हो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।