Sunday, November 6, 2011

मोबाईल ब्राण्ड #mobile #brand #selection


अतिरिक्त सेवा–सुविधालाई दोस्रो प्राथमिकतामा राखेर फगत रिसिभ र कल गर्नको लागि नयाँ मोबाइल सेट खरिद गर्न लाग्नुभएको भए तपाईंसँग मनग्ये विकल्प छन् । बजारमा १२ सयदेखि ६० हजारसम्मका सेट पाइन्छन् । कुनै मोबाइल पसलमा जानुभो भने तुरुन्त पाउनुहुन्छ भने कुनै पसलेले बाहिरबाट मगाउनुपर्छ भन्छन् । कुनै सेट रेडियोको पनि काम गर्ने खालका हुन्छन्, कुनैले टर्चलाइटको पनि काम गरिरहेको हुन्छ । उस्तै पर्दा १९ घण्टासम्म लोडसेडिङ हुने हाम्रो देशमा स्क्रिन र मेमोरी स्टोरेज राम्रो भएको मोबाइल सेटमा एउटा सिङ्गै फिल्म कपी गरेर फुर्सद्मा हेर्न सकिन्छ । गीत सुन्नु र रेडियो बजाउनु त मोबाइलको सामान्य सुविधाभित्रै पर्ने कुरा भइहाले ।

फोन कल गर्न र रिसिभ गर्नको लागि मात्र तपाईंले सेट खरिद गर्न लाग्नुभएको हो भने बजारमा पाइने २५ सय÷३ हजारका फोन उत्तम हुन्छन्, जसले तपाईंको आवश्यकता पूरा गर्छ । हुनलाई भारतीय ब्राण्डका १२–१५ सय पर्ने मोबाइल पनि नराम्रा हुँदैनन् तर लोडसेडिङ भएको बेला रात–बिरात कतै निस्किरहनुपर्छ भन्ने लाग्दछ भने तपाईंले टर्चलाइट फिचर समावेश भएको सेट खरिद गर्नु उत्तम हुन्छ । यसको लागि ब्रान्ड हेरी–हेरी ३ हजारदेखि ३५ सयसम्म तिर्नु पर्ला ।
खासै नाम नचलेको भारतीय ब्राण्डको दुईवटा सिम लाग्ने सेट खरिद गर्नुभयो भने तपाईंले ४–५ हजारमा पाउन सक्नुहुन्छ । रोमिङको मामलामा सबै जसो मोबाइल सेवा प्रदायक उदार भए पनि एउटा कम्पनीको मोबाइलबाट अर्को मोबाइलमा फोन गर्दा अलि बढी शुल्क लाग्ने भएकोले त्यो निरन्तर हुने अनावश्यक खर्च कट्टी गर्न तपाईंले दुईवटा सिम लाग्ने मोबाइल लिनु उपयुक्त हुन्छ । हाम्रो देशमा त कभरेजको हिसाबले दुईवटा मोबाइल सेवा प्रदायक अगाडि छन् तर भारतको कुरा गर्ने हो भने यो संख्या अलि बढी छ । त्यसैले कतिपय भारतीयहरुले व्यापारिक प्रयोजनको लागि तीनवटासम्म सिम लाग्ने मोबाइल खरिद गर्न थालेका छन् ।

बाहिर रहेका आफन्त वा साथीभाइसँग नियमित सम्पर्कमा रहनुपर्ने वा धेरै च्याट गर्ने बानी परेको भए तपाईंको लागी क्वार्टी की बोर्डवाला मोबाइल सेट उत्तम हुन्छ । अझ तपाईंको स्क्रीन अलि सानो छ भनेर त टच स्क्रिनवाला मोबाइल फोन घाँडो नै हुन्छ । बानी परेपछि भिन्दै कुरा हो । च्याटको लागि टचवाला सेटभन्दा क्वार्टी सेट धेरैको रोजाइ हो । आधारभूत सुविधामात्र भएको क्वार्टी की बोर्डवाला सेट बजारमा ५ देखि साढे ५ हजारसम्ममा पाइन्छ । बजारमा लगभग सबै जसो सेटले जीपीआरएस (इन्टरनेट) सपोर्ट गर्छ तर स्पीड र नेटवर्क आदि विविध कारणले जीपीआरएसमा सधैँ भर पर्न सकिँदैन । यस्तोमा तपाईंले वाईफाईवाला मोबाइल सेट लिनु उत्तम हुन्छ । वाईफाई सुविधा भएको सेट साधारण सेटभन्दा अलि महङ्गो पर्छ । बजारमा राम्रो नाम चलेको ब्राण्डको वाईफाई सुविधा भएको फोन खरिद गर्नको लागि तपाईंले कम्तीमा १०–११ हजार भुक्तान गर्न तयार हुनुपर्छ तर वाईफाईवाला फोन पनि तपाईंको घर वा कार्यालयमा वायरलेस इन्टरनेट छ भनेमात्र हो, नत्र त्यसैको लागि महङ्गो शुल्क तिर्नुलाई उचित मान्न सकिन्न ।

मोबाइलमा तपाईंको आवश्यकता वाईफाई इन्टरनेटभन्दा अलि बढी हो भने तपाईंले कम्तीमा १६–१७ हजारभन्दा बढी खर्च गरेर अलि राम्रो ब्राण्ड भएको मोबाइल खरिद गर्नु राम्रो हुन्छ । जसमा तपार्इंले गीत सुन्नेदेखि सानो स्क्रिनमा भए पनि भिडियो हेर्न सक्नुहुन्छ । मोबाइलको अपरेटिङ सिस्टमअनुसार उपलब्ध थप केही प्रोग्राम थप्न सक्नुहुन्छ । मोबाइलको स्पीड (उपलब्ध हार्डवेयरको क्षमता) राम्रो छ भने मोबाइलमा बिभिन्न गेमहरु हाल्न सक्नुहुन्छ । मन पर्ने गायको सिङ्गै एल्बम कपी गर्न सक्नुहुन्छ । यी यस्ता कुराहरु हुन्, जुन लामो यात्रामा रहेको बेला पट्यारलाग्दो समय कटाउन धेरै सजिलो हुन्छ ।

१४–१५ हजारभन्दा बढी पर्ने मोबाइलमा साधारणतया तपाईंले ३–४ भन्दा बढी मेगापिक्सेलको क्यामेरा भेट्नुहुन्छ । २० हजारसम्म खर्च गर्नुभए तपाईंले कम्तीमा पाँच मेगापिक्सेल भएको मोबाइल फोन पाउनुहुन्छ तर तपाईंको पहुँचमा कम्प्युटर छैन र ग्याजेटहरुसम्बन्धी धेरै जानकारी छैन भने राम्रो क्यामेराको लागि भनेर धेरै महङ्गो फोन खरिद गर्नु बुद्धिमानी हैन । मोबाइलबाट खिचेका फोटो भण्डारण गर्ने ठाउँ नहुँदा तपाईंले खिचेका फोटो सधैँभरि स्टुडियोमा गएर धुलाउनु सम्भव हुँदैन । सुरु–सुरुमा केही फोटो पनि धुलाइहाल्नु होला तर हातमा क्यामेरा भएको मोबाइल छ, कतिमात्र फोटो खिच्ने र कतिमात्र  धुलाउने ।

तपाईंमा ग्याजेटको शोख छ र राम्रै पैसा खर्च गर्ने क्षमता पनि छ भने तपाईंले अलि महङ्गो फोन खरिद गर्दा फरक पर्दैन । जसले तपाईं फोटो र भिडियो खिच्ने, गीत सुन्ने, भिडियो हेर्ने, गेम खेल्ने, इन्टरनेट चलाउने, ईमेल चेक गर्ने, एकै क्लिकको भरमा फेसबुकजस्ता सामाजिक सञ्जाल वेबसाइट सञ्चालन गर्न सक्नुहुन्छ तर महङ्गा मोबाइल फोन गर्दा त्यसमा भएको हार्डवेयरलाई ध्यान दिनु उपयुक्त हुन्छ । अहिले बजारमा उपलब्ध स्मार्टफोनहरु साधारणतया २ सय ५६ मेगाबाइट मेमोरी र ५ सय ३३ मेगाहर्ज प्रोसेसर भएको पाइन्छ । साधारणतया यो कन्फिगुरेसन भएको फोन माथि उल्लेख गरेअनुसारको काम गर्नु ठीकै हुन्छ तर मन मारेर पैसा खर्च गर्ने नै भएपछि योभन्दा अलि बढी क्षमताको लिनु राम्रो हुन्छ । जसले गर्दा भविष्यमा तपाईंले मोबाइलको अपरेटिङ सिष्टम अपग्रेड गर्नुभयो भने हार्डवेयरकै कारणले भएन भन्नु पर्दैन ।

जति नै महङ्गो र राम्रो मोबाइल भए पनि त्यसको ब्याट्री राम्रो छैन भने मोबाइलमा तपाईंको पैसाको सही सदुपयोग भएको मान्न सकिन्न । महङ्गो मोबाइलमा नेट सर्पिmङ गर्दा, प्रोग्राम चलाउँदा, कुरा गर्दा कति समय पावर ब्याकअप दिन्छ त्यो महत्वपूर्ण कुरा हो । बजारमा ठीकै मूल्यका मोबाइलमा ७ सय एमएएचदेखि १५ सय एमएएचभन्दा बढी क्षमतासम्मको ब्याट्री भएको मोबाइल पाइन्छ । त्यसैले तपाईंको आधारभूत आवश्यकतालाई छोडेर अन्य फिचरलाई माया मारेर भए पनि राम्रो ब्याट्री Ôमता भएको मोबाइल खरिद गर्नु उपयुक्त हुन्छ । जति धेरै फिचर भएको मोबाइल खरिद गर्नुहुन्छ, त्यति नै राम्रो ब्याट्री ब्याकअप भएको मोबाइल लिनु उपयुक्त हुन्छ ।
यो लेख मिती २०६८ कार्तिक २० गते आईतबारको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको हो । पत्रिकामा छापिएको आकारमा हेर्न यहाँ क्लीक गर्नुहोस ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।