Sunday, January 1, 2012

वी धराने #We #Dharane

सामाजिक सञ्जाल फेसबुकलाई धरानका एक युवाले द्रुत गतिमा स्थानीय गतिविधि प्रसारण गर्ने माध्यम बनाएका छन् । ‘वी धराने’ नामको उनको फेसबुक पेजमा उनी धरानमा हुने डान्स पार्टी, खेलकुद प्रतियोगिता, साँस्कृतिक कार्यक्रमदेखि कुनै राष्ट्रिय स्तरको नेता आउँदा हुने कार्यक्रमलाई समेत समेट्छन् । मिस पूर्वाञ्चल प्रतियोगिताको त उनी अफिसियल मिडिया पार्टनर नै थिए । आम प्रयोगकर्तामाझ साथीभाइको सर्कललाई समेट्ने माध्यमको रुपमा चिनिएको फेसबुकमा उनले गरेको ‘प्रयोग’ निकैले रुचाएका पनि छन् ।

धरानमा कार्यरत् पत्रकारहरुस“ग टोल–टोलमा हुने चण्डी, साकेला र धाननाचको जानकारी तथा फोटो नहुन सक्छ तर उनको फेसबुकमा भेट्न सकिन्छ । सबै जातजातिको साँस्कृतिक कार्यक्रममा उनको सक्रिय उपस्थिति रहने गरेको भए पनि उनलाई जातीयरुपमा सामाजिक संरचना खण्डित हुन खोजेको भान परेकोले उनी आफ्नो नाम र थरले चिनिन चाहँदैनन् । त्यसैले उनले ‘क्वानछाङ’ नाम राखेर आफ्नो न्वारान आफै गरेका छन् । हुन त उनको नामको ‘छाङ’ भन्नाले उनको जातको एउटा हाँगो विशेषलाई बुझाउँछ तर उनी आफ्नो वास्तविक नाम र थर भन्न रुचाउँदैनन् र आफूलाई ‘धराने’ भन्छन् ।

उनमा आफू हुर्के–बढेको धरानप्रति यस किसिमको अगाध माया–प्रेम चाहिँ दुई वर्षअघि काम गर्न धरान छाडेर अफगानिस्थान रह“दा बढेको रहेछ । उनी अफगानिस्थानमा रह“दा हाल दुबईमा रहेका अर्का धराने गगन नेपालीले ‘वी धराने’ भन्ने फेसबुक पेज बनाएका रहेछन् । उनले चाहिँ गगनको पेजको फ्यान रहेछन् र एक प्रयोगकर्ताका रुपमा त्यस (फ्यान) पेजको वालमा धरान र यसस“ग सम्बन्धित तस्विर, जानकारी आदि पोष्ट गर्ने गरेका रहेछन् । उनका अनुसार गगनको त्यो पेज नियमित हुन नसकेपछि उनैले ‘क्वानछाङ’ लाई त्यस पेजको एडमिन बनाइदिएका रहेछन् ।

अहिले उनको पेजमा नेपाल, हङकङ, दुबई, बेलायत, अष्ट्रेलिया आदिमा बसोबास गरिरहेका धरानस“ग सम्बन्ध राख्ने छ हजारभन्दा बढी प्रयोगकर्ता आबद्ध छन् । तीमध्ये दैनिक एक हजारभन्दा बढीले उनको पेज चहार्ने गर्छन् । मूल घर धरान भएकादेखि कुनै समय धरानमा बसेका र धरान मन पराउने देश–विदेशका नेपालीहरु उनको पेजका फ्यान छन् । उनी भन्छन्, ‘विगतमा धरानबारे जे–जस्तो प्रचार गरिए पनि अहिले आएर धरानको रहनसहन र हावापानी बुझेका मान्छेहरु धरानलाई औधी मन पराउँछन् ।’

उनले आफ्नो फेसबुक पेजलाई अन्तकृयात्मक बनाउन खोजेका छन् । यसका लागि आफूले खिचेर ल्याएको फोटो वालमा पोष्ट गरेपछि विभिन्न खालका प्रश्न पनि राख्ने गर्छन् । उनी भन्छन्, साधारणतया मान्छेहरु सकारात्मक प्रतिक्रिया नै दिने गर्छन् तर कहिलेकाहीँ व्यक्तिगत आरोप लगाउने वा साम्प्रदायिक द्वैष फैलाउने प्रतिक्रिया पनि देखा पर्छ । यस्तोमा म व्यक्तिगतरुपमा सो वालपोष्ट हटाउन अनुरोध गर्छु तर पनि मानेनन् भने म आफै सो पोष्ट हटाइदिन्छु । उनी थप्छन्, ‘सामाजिक सञ्जाल भ्रातृत्व र अपनत्व बढाउन प्रयोग गरेको राम्रो हुन्छ ।’ विभिन्न कारणले कसैलाई पनि गाली गर्न बनाइने पेजहरु उनलाई राम्रो लाग्दैन रे । त्योभन्दा पनि नमज्जा चाहिँ उनलाई दुःख व्यक्त गर्नुपर्ने वालपोष्ट वा फोटोमा मान्छेले लाइक गरेकोमा लाग्छ रे ।

‘वी धराने’ लाई फेसबुक पेजमात्र हुन नदिएर एउटा वेबसाइटकै रुपमा स्थापित गर्ने उनको लक्ष्य पनि छ तर उनलाई वेबसाइट नियमित हुन नसक्ला कि भन्ने डर छ । उनी भन्छन्, ‘एउटा वेबसाइट बनायो भने युजरले सो साइट हेर्नको लागि ब्राउजरको छुट्टै ट्याब छुट्याउनुपर्छ । कतिपय अवस्थामा मान्छेले वास्ता गर्दैनन्, बिर्सिन्छन् तर फेसबुक पेजलाई लाइक गरेको छ भने सो पेजको कन्टेन आफै वालमा देखा पर्छ । आखिर अहिलेको जमानामा इन्टरनेट चलाउने कसले पो फेसबुक चलाउँदैन र ?

यो लेख २०६८ पौष , १८ गतेको स्थानिय ब्लाष्ट दैनिकमा  प्रकाशित भएको छ । पत्रिकामा छापीएको आकारमा हेर्न यहाँ क्लीक गर्नुहोस ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।