Sunday, May 18, 2014

विकिपिडिया जिरोको बारेमा

गत सप्ताह नेपालको निजीक्षेत्रको टेलिफोन सेवा प्रदायक एनसेलले उसको आफ्नो नेटवर्क प्रयोग गरेर 
विश्वको सबैभन्दा ठुलो अनलाइन पुस्तकालय भनिने विकिपीडिया प्रयोग गर्दा लाग्ने शुल्कमा शतप्रतिशत छुट दिने बताएको  छ ।  विकिपेडिया जिरो नाम दिइएको सो सेवा गत वैशाख २४ गते देखी लागु भएको हो । विकिपिडिया जिरो नाम दिएर एनसेलको नेटवर्कबाट जिरो पैसामा विकिपिडिया प्रयोग गर्न दिने बताए पनि  ओपेरा मिनी, व्ल्याकवेरी तथा अन्य प्रोक्सी ब्राउजर रहेका मोबाइल सेटमा प्रयोग गर्दा भने उसले प्रयोगकर्ताको ब्यालेन्टबाट नियमित डेटा शुल्क काट्नेछ । साथै यसमा रहेका बाह्य लिंकमा क्लिक गरी अर्को वेबसाईट प्रयोग गरे बापत पनि नियमित शुल्ने लाग्नेछ ।


के हो त विकिपीडिया ?

विकिपेडिया एक खुला विश्वकोष हो । विकि प्रविधिमा आधारित भएर यसको निर्माण गरिएको हुदाँ यस वेबसाईटमा रहेका सामग्रीहरू जोसुकैले सम्पादन वा सिर्जना गर्न सक्दछन् । अझ विस्तृत रूपमा भन्नु पर्दा विकिपिडिया एक बहुभाषिक, इन्टरनेटमा आधारित,  खुला विश्वकोष हो जसलाई विकिमिडिया नाम गरेको एक गैर नाफामुलक संस्थाले सञ्चालन गरिरहेको  छ ।  अहिले सम्म विकिपेडियामा विभिन्न  २८२ भाषाहरूमा गरी करिब ३ करोड भन्दा बढी लेखहरू रहेका छन् जसमध्ये करिब  ४५ लाख लेखहरू अङ्ग्रेजीमा रहेका छन् । यसमा रहेका विषयवस्तुहरु विश्वभर रहेका प्रयोगकर्ताहरुले लेखेका वा सम्पादन गरेका हुन् । जोसुकैले सम्पादन तथा सिर्जना गर्ने सक्ने हुदाँ आलोचकहरु यसमा रहेका सामग्रीहरुको बिश्वासनियता प्रति शङ्का व्यक्त गर्ने गर्दछन । तर महत्वपुर्णकुरा के छ भने विकिपिडियामा धेरै लामो समय सम्म कुनै पनि झुट टिक्न सक्दैन । कसै न कसैले त्यसमा राखिएको गलत तथ्य सच्याई दिन्छ ।

नेपाली भाषामा संञ्चालनमा रहेको विकी को कुरा गर्ने हो हाल यसमा २५ हजार भन्दा बढी सानाठूला लेखहरू छन्। यसमा भएका जम्मा नेपाली पेजहरूको सङ्ख्या भनेँ ४२ हजार भन्दा बढी छन् । यसै साइटमा उल्लेख भए अनुसार नेपाली विकीमा हालसम्ममा १२ हजार प्रयोगकर्ता दर्ता भएका छन् जसमध्ये सरदर ८० जना सक्रिय रहन्छन्। विकिपीडियामा नेपाली बाहेक नेपाल भित्र बोलिने अरू भाषाहरु नेपाल भाषा, भोजपुरी भाषा, पाली भाषा मा पनि पेजहरू उपलब्ध छन्।

विकिपेडिया जिरो को कतिको प्रभावकारी छ त ?
एनसेलले विकिमेडिया सँग सहकार्य गरी एनसेलले यो सेवा प्रयोगमा ल्याएको बताइएको भएता पनि वास्तवमा विकिपिडिया जिरो विकमिडिया फाउन्डेशनको आफ्नो कार्यक्रम हो । जुन कार्यक्रम नेपाल, बंङ्गलादेश, म्यानमार, कम्बोडिया, ईन्डोनेसिया जस्ता विकासोन्मुख देशहरूमा सञ्चालन भइरहेको छ । भारतमै पनि एयरसेल नाम गरेको मोबाइल सेवा प्रदायकले विकिपेडिया जिरो सञ्चालन गरिरहेको छ । विकिमेडियाको आधिकारिक वेबसाईटहरुमा उल्लेख भए अनुसार विकिपिडिया मा प्रकाशित सामग्री निःशुल्क रूपमा प्रवाह गर्नेको लागी यस कार्यक्रमको आयोजना गरिएको हो ।

आफ्नो विज्ञप्तिमा एनसेलले मौनता साधेको भएता पनि यो सेवा स्मार्टफोन प्रयोगकर्ताहरुलाई लक्ष्यीत गरी ल्याएको हो । एनसेलको नेटवर्कबाट सित्तैमा विकिपिडिया चलाउनको लागी गुगल प्ले स्टोर वा एप्पलको एप स्टोर बाट विकिपिडियाको मोबाइल एप्लीकेशन डाउनलोड गरी त्यसैबाट मात्र विकिपिडिया चलाउनु उपयुक्त हुन्छ  । सबभन्दा महत्वपुर्णकुरा के छ भने विकि एप बाट विकिपिडिया चलाइरहेको बेला पैसा नकाटोस भन्ने चाहने हो भने झुक्केर पनि त्यसमा रहेको एक्सटरनल लिङ्क क्लिक गर्नु हुदैन ।

विकिपिडिया आफैमा इन्टरनेटबाट ज्ञानको प्रवाह गर्ने अभिप्रायले स्थापन गरिएको वेबसाईट हो । यसको  प्रचार तथा प्रवर्दनले  सुसुप्त अवस्थामा रहेका प्रयोगकर्ताहरुलाई फाइदा नै पुग्छ । तर नेपालमा यसका प्रयोगकर्ताहरु असाथ्यै थोरै छन् । कम्पनीले विकिपिडियाको प्रयोगविधि स्पष्ट नगरेकोले सिधा सोझा ग्राहकहरु चर्चा गरिए जस्तो लाभान्वीत हुने देखीदैन ।  यद्दपी सित्तैमा विकिपिडिया चलाउन पाउनु राम्रै कुरा हो ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।