Sunday, April 26, 2015

कोरा डट कमः एक उपयोगी वेबसाइट

दश मिनेटमा सिक्न सकिने तर जिन्दगीभरि काम लाग्ने कुरा के हो ?
स्टीभ जब्स (एप्पल कम्पनीका संस्थापक) ले आफ्नो क्यान्सर उपचारलाई किन गम्भीरतापूर्वक लिएनन् ?
चर्चित कोरियन गीत ‘गननम स्टाइल’ को म्युजिक भिडियोमा पहेँलो सुटमा नाच्ने कलाकार को हुन् ?
गाडीमा लामो दुरी यात्रा गर्दा यात्रुको तुलनामा किन सवारी चालकलाई बढी ढाड दुखेको अनुभव हुन्छ ?
सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमाथि आक्रमण गरेको बखत त्यही टावरभित्रै हुँदा कस्तो अनुभव हुँदो हो ?

कोरा डट कममा सोधिने यी केही प्रतिनिधि प्रश्नहरु हुन् । हुनलाई यीभन्दा अलि बढी नै बहुलठ्ठी लाग्ने प्रश्नहरु पनि
सोधिन सक्छन् । साधारणतया मनमा आएर पनि अरुलाई सोध्न नसकिरहेका धेरै प्रश्नहरु यस वेबसाइटमा देख्न सकिन्छ । उदाहरणका लागि, यसै वेबसाइटमा एक प्रयोगकर्ताले सोधेको प्रश्न मनन् गरौं । ‘भगवान् श्रीरामको सट्टामा भगवान् श्रीकृष्ण हुँदा हुन् त उनले रावणलाई के गर्थे होलान् ?’ अवश्य पनि यो प्रश्नको उत्तर सहज छैन । कम्तीमा ‘महाभारत’ र ‘रामायण’ का बारेमा राम्रो ज्ञान भएका वा अझ भगवान् श्रीकृष्णको चरित्र अध्ययन गरेका मान्छेहरुले मात्र तार्किक उत्तर दिन सक्छन् ।
जस्तो कि यसै प्रश्नको उत्तरमा एक प्रयोगकर्ता लेख्छन्– रामको ठाउँमा कृष्ण हुन्थे भने रावणसँग उनी सोझै युद्ध गर्दैन थिए होलान् । सम्भवतः बालीलाई अघि सारेर रावणलाई मार्थे, जसरी ‘महाभारत’ को युद्धमा पाण्डवलाई अघि सारेर कौरवको नाश गरेका थिए । उनको यो उत्तरसँग तपाईं सहमत हुनुहुन्न र योभन्दा अलग तर्क छ भने तपाईं त्यस वेबसाइटमा लगईन गरेर आफ्ना विचार राख्न सक्नुहुन्छ । त्यसपछि थाहा हुनेछ, कतिलाई तपाईंको कुरा मन पर्यो भनेर ।

मूलतः कोरा डट कम एक प्रश्नोत्तर वेबसाइट हो । साधारणतया यस वेबसाइटमा प्रयोगकर्ताले सोधेको प्रश्नको जवाफ सम्बन्धित विज्ञबाट खोज्ने प्रयास गरिन्छ । कुनै प्रश्नको उत्तर कुनै व्यक्ति विशेÈबाट अपेक्षा गरिएको भए सम्बन्धितलाई उत्तरको लागि अनुरोध गर्न सकिन्छ । झारा टार्ने किसिमको प्रश्न वा उत्तरको यस वेबसाइटमा कुनै स्थान छैन । प्रयोगकर्ताले सोधेको प्रश्नलाई अरुले भाषागत वा व्याकरणीय सुधारका लागि सुझाव दिन सक्छन् । प्रयोगकर्ताले उत्तर चित्तबुझ्दो लागे ‘अपभोट’ गर्न सक्छन् भने चित्त नबुझे ‘डाउनभोट’ गर्छन् । यस वेबसाइटमा कुनै प्रश्नसँगै सबैभन्दा बढी रुचाइएको त्यसको उत्तर हुने गर्दछ । कसैले नरुचाएको वा अनुपयुक्त ठानेको उत्तर प्रश्नसँग देखिन छाड्छ । यो वेबसाइटमा कुनै प्रश्न सोध्न वा उत्तर दिनको लागि कम्तीमा गुगल, ट्वीटर वा फेसबुक खाता भएको हुनुपर्दछ । यसमा राखिएका प्रश्न तथा उत्तरहरु स्तरीय रहून् भनेर प्रत्येक प्रयोगकर्ताले यस वेबसाइटको सदस्य बन्न आफ्नो वास्तविक परिचय सार्वजनिक गर्नैपर्छ । यद्यपि परिचय गोप्य राखेर पनि कुनै प्रश्न वा उत्तर वेबसाइटमा राख्न सकिन्छ ।

यो वेबसाइटमा कुनै प्रयोगकर्ताले आफूलाई दर्ता गरिसकेपछि आफूलाई कुन विषयसँग सम्बन्धित सामग्रीहरु पढ्न मन पर्छ वा अन्तर्कृयामा सहभागी हुन मन पर्छ, सोसम्बन्धी बढीमा २० वटा विषय रोज्नुपर्दछ । यो वेबसाइटमा गुगल, फेसबुक र ट्वीटर खाताबाट लगईन गर्न सकिने भएको हुनाले आफ्नो कन्ट्याक्टमा भएका साथीहरुलाई सजिलै खोज्न र तिनै साथीहरुबाट अन्तत्र्रिmया शुरु गर्न सक्दछ । यो वेबसाइटमा गएर प्रश्न सोध्ने मात्र होइन, आफूले के जानेको छ, सो पनि उल्लेख गर्नुपर्दछ र त्यसैको आधारमा कसैले उक्त प्रश्नको उत्तर दिन सिफारिस गर्ने गर्दछ । समग्रमा माथि उल्लेखित प्रक्रिया पूरा गरेपछि मात्र तपाईं कोरा डट कमको पूर्ण प्रयोगकर्ता मानिनुहुन्छ ।

हुनलाई यो वेबसाइट आफैमा कुनै नयाँ प्रयोग भने होइन । कुनै विषयवस्तुका बारेमा विस्तृत विवरण दिनको लागि यसभन्दा पहिले नै विकिपेडिया छँदै थियो । अझ विकिपेडियाले प्रश्नोत्तरको लागि विकिएन्सर भन्ने वेबसाइट सञ्चालन गरेकै थियो । याहुले यसअगाडि नै प्रश्नोत्तर वेबसाइटको रुपमा याहु एन्सर प्रयोगमा ल्याइसकेको थियो । खासमा क्वेरा याहु एन्सर र विकिपेडियाको विद्यमान् फिचरहरुलाई जोड्दा बन्ने एउटा सिङ्गो साइट हो । यद्यपि क्वेरामा कुनै पनि प्रश्न तथा उत्तर परिचय सार्वजनिक नगरी दिन सकिँदैन । यस वेबसाइटको आन्तरिक संरचना भने अन्य वेबसाइटको तुलनामा जटिल छ । यसमा प्रयोगकर्तालाई स्तरीय सामग्री उत्पादन गर्नको लागि प्रोत्साहित गर्न भोटिङ सिस्टम अवलम्बन गर्ने गरिन्छ । जस्तो, कुनै प्रयोगकर्ताले स्तरीय उत्तर दिएर प्राप्त गरेको अङ्कलाई त्यही तहको प्राप्ताङ्क प्राप्त गरेको अर्को प्रयोगकर्तालाई प्रश्न सोध्न सकिन्छ ।

यस वेबसाइटमा आफ्नो क्षेत्रमा नाम चलेका व्यक्तिहरुको बाक्लै उपस्थिति छ । यद्यपि यस सूचीमा सूचना प्रविधिको क्षेत्रमा लागेका प्रयोगकर्ताहरुको नामावली लामो छ । प्रसिद्ध अमेरिकी इन्टरनेट कम्पनी एओएलका अध्यक्ष स्टीभ केस, विकिपेडियाका संस्थापक जिम्मी वालेस, फेसबुक संस्थापक मार्क जुकरबर्ग आदि नाम चलेका क्वेरा प्रयोगकर्ता हुन् । धेरैले यस वेबसाइटको डिजाइन शैली फेसबुकसँग मिल्ने बताउने गरेका छन् जसलाई स्वयं यसका संस्थापकहरुले विभिन्न अन्तर्वार्ताहरुमा स्वीकार पनि गरेका छन् । संस्थापकद्वय आदम डिएङ्लो र चालि सिर्भर पूर्व फेसबुक कर्मचारी नै हुन् ।
 यो लेख मिति २०७१ बैसाख १३ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।