Sunday, April 29, 2012

नेपालमा ईन्टरनेटबाट खरिद बिक्री #online #shopping

online-shopping nepal
नेपाल लक्ष्यीत अनलाईन बिजनेस गरी रहेका केही वेबसाईटमा गएर भुक्तानी गरे पछी पर्व अवसर अनुसारका सामग्री वेबसाईटवालाले सम्बन्धीत कहाँ पुर्याई दिन्छन । अब भनिरहन पर्दैन बिदेशमा बसेका छोराछोरीले माततिर्थ औशीको दिन आमालाई सरप्राईज दिन चाहे भने मात्र पनि मनग्गे बिकल्प छन । ढोकैमा उपहार आईपुग्न सक्छ ।  दशैमा घरपरिवारलाई एउटा मज्जाको कालो घोर्ले खसी किन्दीन परोस वा बाबुको मुख हेर्ने दिन एउटा मज्जाको आईफोन दिन मन लागोस । मन मात्र गर्नु पर्छ ,सात समुन्द्र पारी बसी बसी त्यहाँको अनलाईन ट्रान्जेक्सन गर्न मिल्ने डेविट वा क्रेडिट कार्डको साहायताले घर परिवारको लागी सामान किनि दिन सकिन्छ । मुन्चा डट कम , ठमेल डट कम , सपएनबिडिएस डट कम आदी बिदेश बाट भुक्तानी गरेर नेपालमा सामान सप्लाई गर्ने वेब साईट हुन ।
अमेरिका, युरोप बसेर नेपालमा उपहार पठाउन सकिने भए पछी यदी कसैले पोखरा बसेर धरानमा केही सामान पठाउछु नि त भनि हाल्यो भने अहिलेलाई त्यो अलि सम्भव छैन वा धेरै झन्झट छ भन्नु पर्ने हुन्छ । किन भने मुख्य कुरा यस्ता अनलाईन पोर्टलहरु काठमाण्डौ केन्द्रीत बजारमा ब्यस्त छन । धेरैमा काठमाण्डौमै पनि अतिरिक्त शुल्क तिरे पछी मात्र सामान ढुवानी हुन्छ । दुई सय देखी दश हजार रुपयाँ मा बैकं खाता खोलेर पाईने एटिएम कार्डले ईन्टरनेटमा भुक्तानी गर्न मिल्दैन । अझ भनौ हामी सँग भएका एटीएम कार्डले पायक परेको स्थानमा रहेको मेसिन बाट पैसा निकाल्ने बाहेक केही गर्न सक्दैनन । प्रचलनमा रहेका अनलाईन ई-कर्मस साईटहरुमा भुक्तानी गर्नको लागी डलर बाट ट्रान्जेक्सन गर्न मिल्ने कार्ड चाहीन्छ । जुन सर्वसाधरण नेपालीको लागी आकाशको फल झै हो । डलर ट्रान्जेक्सन गर्न मिल्ने कार्ड पाउन आफ्नो आय स्रोत पनि डलर मै देखाउनु पर्छ त्यो पनि नेपाल राष्ट्र बैकको सम्पुर्ण प्रक्रिया पुरा गरेर ।

सरकारी निती प्रविधीलाई आत्मसात गर्ने भन्दा पनि निति निर्माणतहमा रहेका ब्यक्तीहरुको अज्ञानतालाई कानुन बनाउने खालको छ । त्यसैले सरकारी तहबाट नेपालमा अनलाईन बिजनेस को क्षेत्रमा केही भै हाल्ला भन्न सकिने अवश्था छैन तर  नेपालका निजी बैकहरुले नेपालमै ईन्टरनेट कारोबार गर्ने सोच राखेर काम गरी रहेका सस्था सँग मिलेर यसमा केही फड्को मार्न खोजेका छन । भाटभटेनि डिपार्टमेन्ट स्टोर , हरिलो डट कम, ई-सेवा आदी यसको उदारण हो । काठमाण्डौको प्रख्यात डिपार्टमेन्ट स्टोर भाटभटेको अनलाईन पोर्टलमा जानु भयो भने त्यस डिपार्टमेन्ट पाईने कतिपय सामान अनलाईन किन्न सकिन्छ त्यो पनि नेपलकै बैकको अनलाईन खाता प्रयोग गरेर । भाटभटेनिकै कुरा गर्दा सामान रोजी सकेपछी कुमारी बैकको अनलाईन बैङ्किग खाता प्रयोग गर्नु भयो भने भुक्तानी गर्न सकिन्छ । कुमारी बैकमा खाता छैन भने पनि तपाईलाई ई-सेवा ले त्यही बराबरको सुबिधा प्रदान गर्छ । लक्ष्मी बैक, बैक अफ एसिया, किष्ट बैक, एनएमबी बैक , सानिमा बैक आदीमा भएको बैक खातामा ईन्टरनेट बैङ्कीग को सुबिधा लिनु भएको छ भने घरमै बसी बसी ई-सेवामा पैसा ट्रान्सफर गर्न सकिन्छ । ई – सेवामा पैसा ट्रान्सफर गरी सके पछी तपाईले भाटभटेनी मात्र हैन अरु केही साईटहरुमा पनि बस्तु वा सेवा खरिद गर्न सक्नु हुन्छ । ई- सेवा मा मात्र पैसा जम्मा गर्न सक्नु भयो भने बुद्द एयरले उडान गर्ने स्थानको लागी बुद्द एयरको टिकट किन्न ट्राभल एजेन्टको मा पुग्नु पर्दैन । घरमै बसी बसी बसी मोबाईलको रिचार्ज कार्ड खरिद गर्ने  देखी हवाई जहाजको टिकट खरिद गर्न सकिन्छ ।

सेवाग्राहीलाई सुबिधा दिने भन्दा पनि दुख दिने खालको सरकारी नितीलाई सरलीकरण गरेर ब्यपार गर्नको लागि केही उत्साही युवाहरुले नयाँ नयाँ प्रयोग पनि गरेका छन । हरिलो डट कम यसको उदारण हो । यस साईटको साहायताले तपाईले नेपालमै बसेर अमेजन डट कम, ईबे देखी वालमार्ट भन्ने बिश्व प्रसिद्द अनलाईन पोर्टलमा भएका सामान खरिद गर्न सकिन्छ । यसको लागि ईन्टरनेट मार्फत सामानको बिक्री गर्ने अमेरिककाको कुनै पनि वेबसाईटमा गएर आफुलाई मन परेको सामान रोज्नु पर्छ र त्यो सामान देखीन वेबसाईटको ठेगाना हरिलो डट कमको वेबसाईट मा गएर नेपाल सम्म आई पुग्दा सो समानको मुल्य कति पर्ने हो त्यसको कोटेशन माग्न सकिन्छ । यस पछी तपाईले नेपाल (काठमाण्डौ) आईपुग्दा लाग्ने मुल्य पठाउछ । हरिलो उपलब्ध गराएको मुल्य चित्त बुझेमा नेपालकै ईन्टरनेट ब्याङ्किगहरुको प्रयोग गरी भुक्तानी गर्न सकिन्छ । मुल्य कै कुरा गर्नु हुन्छ भने उदरणको लागी उनान्नसय डलर पर्ने अमेजन डट कमले बिक्री गर्ने किन्डल टच हरिलोले लगभग बार्ह हजारको हाराहारिमा नेपाल ल्याई दिन्छ । अमेरिकी डलरको बिनिमय दरको कुरा गर्ने हो भने नेपाल आई पुग्दा लगभग चार हजार नेपाली रुपँया बढी परेको देखीन्छ । तर अमेरिका बाट नेपाल आई पुग्दा लाग्ने कुरीयर खर्च , नेपाल सरकारले तोकेको भन्सार , मुल्य अभिबृदी कर जोड्दा मुल्य अनुचित मानी हाल्न पर्दैन ।
यो लेख पुर्वाञ्चलवाट प्रकाशन हुने ब्लाष्ट दैनिकमा मिती २०६९ बैशाख १७ गतेको अङ्कमा प्रकाशित भएको छ ।