Tuesday, December 16, 2014

नेपालमा एसएमएस क्रान्ति

तोकिएको समयमा संविधान निर्माण गर्ने दबाब दिने अभिप्रायले अनेरास्ववियुका बिध्यार्थी नेताहरूले एसएएमएस मार्फत खबरदारी सुरु गरेका छन् । गत शुक्रवार देखी जारी उक्त अभियान अन्तर्गत केही दिन सम्मको लागी दैनिक तिनवटाका दरले सम्भव भए सम्म सबैसभासदहरुलाई एसएमएस पठाएर खबरदारी गरिने बताइएको छ । आफ्नै माउ पार्टीका सभासदहरुलाई समेत झक्झकाउन नछोड्ने भनेर सुरु गरिएको उक्त कार्यक्रमलाई धेरैले रचनात्मक सोच भनेर सर्हाना गरेका छन् । हुनलाई ठ्याक्कै यस्तै खालको कार्यक्रम केही समय पहिले गैरराजनैतिक समूहका तर्फबाट भनी धरानबाट पनि सञ्चालन गरिएको थियो । क्षेत्रीय रङ्गशाला धरानमा निर्माण गर्न दबाब दिने अभिप्रायले आयोजना गरिएको उक्त कार्यक्रमले आफ्नो उधेश्य प्राप्त गर्न नसके पनि रचनात्मक आन्दोलनको कार्यक्रम भनेर धेरैको मन जितेको थियो ।

नेपालको कुल जनसङ्ख्याको ८३ प्रतिशत जनसङ्ख्या सँग मोबाइलको पँहुच रहेको सरकारी आँकडाको अगाडी यस्ता एसएमएम आन्दोलनका कार्यक्रमहरूको खासै अकल्पनीय भने लाग्दैनन । सरकारी र निजी क्षेत्रका मोबाइल सेवा प्रदायकहरुले मोबाइलको सिमकार्ड बेचेको तथ्याङ्कमा आधारित यस तथ्यले बहुसङ्ख्यक नेपालीको एकाघरमा एक भन्दा बढी मोबाइल रहेको भन्ने देखाउछ । मोबाइलमा सर्वसाधरणको पहुँच बढे सँगै यसको उपयोग पनि बढेको छ । अहिले झगडियाहरुको लागी मुद्दाको पेशी कहिले छ भन्ने देखी विदेश जानभनेर तम्तयार युवायुवतीहरुको एमआरपी पासपोर्ट जिल्ला प्रशासन कार्यलयमा कहिले आयो भन्ने कुरा जानकारी एमएमएस बाट प्राप्त हुन थालेको छ ।


वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका नाममा हुने विभिन्न प्रकारका ठगीका घटनालाई नियन्त्रण गर्न भनी एसएमएस सेवा सुरु गरेको छ । विभागका अनुसार म्यानपावरले भनेको काम, सेवासुविधा, तलब, कम्पनीका साथै म्यानपावरले मागेको कोटा पूरा भएको वा नभएको जानकारी विभागले तोकेको नम्बर एसएमएस गरी जानकारी प्राप्त गर्न सकिन्छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले एमआरपी बुझ्न आउन आवेदकहरुलाई मोबाइलमार्फत एसएमएस सन्देश पठाउन थालेको छ ।  राहदानीका लागि आवेदन दिएपछि ३५ दिनमा पाइने भनिए पनि विभिन्न कारणबाट तोकिएको समयमा जिल्ला आइपुग्न नसक्ने तर पटकपटक सोध्न आइरहनुपर्ने बाध्यतालाई हटाउन यो व्यवस्था गरिएको उक्त कार्यलयले जनाएको छ ।


सर्वोच्च अदालतले घरमै बसेर सर्वोच्च अदालतमा रहेको मुद्दाको अवस्था जानकारी लिन सक्ने व्यवस्था गरेको छ । सेवाग्राहीले अदालत नआइकन आफूलाई पायक पर्ने नजिकको जिल्ला तथा पूनरावेदन अदालतबाट समेत अनलाइन तारेख लिन सक्नेछन् । यातायात व्यवस्था विभागको वेबसाईटमा दिइएको जानकारी अनुसार एसएमएस मार्फत जो सुकैले आफ्नो मोटरसाइकल, कार, बस, ट्याक्सी लगायत सबै सवारीको कर तिरेको विवरण प्राप्त गर्न सक्दछन । नेपालका धेरै जस्तो बाणिज्यबैकहरुले आफ्नो बैकखाता मार्फत भएको कुनै पनि कारोबारको जानकारी तत्काल ग्राहकको मोबाइलमा पठाउने काम गर्दछन ।

ईन्टरनेको पँहुच बढेसँगै गोर्खापत्रमा छापीने एसएलसी नजिताले मोबाइलको म्यासेजबक्समा राम्रै सँग कब्जा जमाएको छ । सर्टकोड भनिने चारअंकका नम्बरबाट पठाउने एसएमएसको कारोबार गर्नेहरुको लागी प्रवेशिका र बिश्वबिध्यालको नतिजा राम्रै सँग आम्दानी गर्ने अवसर पनि हो । सेवाप्रदायकले लिने शुल्क र ग्राहकसँग उठाईने शुल्कलाई राम्रोसँग नियमन नगरीएर सर्वसाधरण ठगिईरहेको भएता पनि एसएमएस सेवाले धेरैलाई सुविधा पनि दिइरहेको छ । साधरणतय प्रयोगकर्ताहरुले जानकारी प्राप्त गर्ने भन्दा पनि जानकारी माग्ने क्रममा चलनचल्तीको भन्दा बढी शुल्क तिर्नु परेर ठगिने गरेका छन् यद्दपी नेपालमा धेरैले एसएमएस बाट सूचना प्रवाह गर्ने गरेको देखिन्छ ।
यो लेख २०७१ मंङ्गसीर २८ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । 

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।